७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटका नक्कली ऋणी खडा गरेर ८ करोड ठग्ने विवश पाण्डे प्रहरी खोरमा


१५ चैत, नुवाकोट । नुवाकोटका जनताको नाममा नक्कली ऋणी खडा गरेर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ८ करोड बढी ठगी गर्ने मोरङका विवश पाण्डे प्रहरी खोरमा परेका छन । मोरङ उर्लाबारीका पाण्डे नुवाकोटको तादी गाउँपालिकाको सदरमुकाम खरानीटारमा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको म्यानेजरको रूपमा कार्यरत रहेका उनले सोही क्षेत्रका स्थानीयको नाममा हस्ताक्षर कीर्ते गरेर नक्कली ऋणपत्र बनाएर ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रूपैँया ठगी गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको उजुरीकै आधारमा पाण्डेलाई काठमाडौँबाट पक्राउ गरी नुवाकोट ल्याएर अनुसन्धान गरिरहेको जानकारी दिए । खड्काका अनुसार पाण्डेले संस्थामा बचत गर्नेहरूको नाम दुरूपयोग गरी उनीहरूको नक्कली हस्ताक्षर गरेर ऋण निकालेका थिए ।

पाण्डेले लघुवित्त ठगेर काठमाडौँको बुढानिलकण्ठमा आलिशान महल खडा गरेको स्रोतले जनाएको छ । मोरङ घर भएका पाण्डेले कांग्रेस र माओवादीका नेताहरूसँग निकट सम्बन्ध बनाएर काम गरेका थिए । उनले कामको शिलशिलमा खरानीटारकै स्थानीय युवतीसँग बिबाह गरेका थिए ।

पाण्डेलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ । उनी लघुबित्तलाई ठगेपछि महाराजगञ्जमा लुकिछिपी बस्दै आएका थिए । पाण्डेका निम्ति लघुबित्त ठगीमा संलग्न भएका अन्यको समेत पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:४१