७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

व्यावसायिक समस्या समाधान र महासंघभित्र वस्तुगत संघलाई बलियो बनाउन मेरो उम्मेदवारीः हेमराज


१४ चैत, काठमाडाैं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यावसायिक समस्या समाधान र महासंघ भित्र बस्तुगत संघलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएर अघि बढेको बताएका छन्।

‘अहिले उद्योगी–व्यवसायीहरु जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन’, वस्तुगत संघका अध्यक्षहरुसँगको अन्तर्क्रियामा ढकालले भने, ‘महासंघको पुरानो साख जोगाएर उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु।’

महासंघ सञ्चालनमा वस्तुगत संघ र वस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रीय सदस्यहरुको ठूलो भूमिका रहेको भन्दै ढकालले सोहीअनुरुप सम्माजनक व्यवहार गरिनुपर्ने बताए। ‘प्रायजसो वस्तुगत संघ केन्द्रमा भएका कारणले पनि महासंघको हरेक गतिविधिमा वस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रीय सदस्यहरुको ठूलो भूमिका रहँदै आएको छ,’ उनले भने, ‘तर, महासंघमा वस्तुगत परिषद्लाई एसोसिएट्सभन्दा कम अर्थात २० प्रतिशतमात्रै मतभार तथा सोहीअनुरुप कम अधिकार दिइएको छ।’

आफू निर्वाचित भएर गएसँगै विधान संशोधनमार्फत वस्तुगत संघको अधिकार तथा मतभार वृद्धि गर्न लबिङ गर्ने ढकालको प्रतिबद्धता थियो।

हाल महासंघले वस्तुगत संघहरुको क्षमता अभिवृद्धिमा चासो नदिएको भन्दै ढकालले आफू उपाध्यक्षमा निर्वाचित भएर गएसँगै सो विषयमा समेत काम गर्ने बताए। आफू महासंघमा वस्तुगततर्फतबाट केन्द्रीय सस्दय भएर विभिन्न समितिको जिम्मेवारी लिँदा वस्तुगत संघको हकहितमा थुप्रै काम गरेको जानकारी दिँदै उनले उपाध्यक्ष भएपछि वस्तुगत संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने प्रतिबद्धता गरे। ‘नेपालमा वास्तविक रुपमा उद्योग–व्यवसाय सञ्चालन गरेर देशको अर्थतन्त्र चलायमान बनाउने भनेको वस्तुगत संघमा आबद्ध रहेका साथीहरुले हो’, उनले भने, ‘महासंघको ब्रेन भनेको बस्तुगत संघ हो तर त्यसको सदुपयोग गर्न सकिएको छैन।’

नेपालमा मौलिक वस्तुहरु उत्पादन गरी निर्यात गरेर देशमा डलर भित्र्याएर अर्थतन्त्रमा योगदान दिने काम वस्तुगतसँगले गर्दै आएको भन्दै ढकालले यसको विकास र प्रवर्द्धनमा सरकारले विशेष चासोका साथै सोहीअनुरुप सुविधा दिनुपर्ने तर्क गरे।

अहिले महासंघमा आबद्ध वस्तुगत संघको राय–सुझावमात्रै लिएर कार्यान्यवनमा लैजाने हो भने देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सहज हुने ढकालको भनाइ थियो। ‘अहिले वस्तुगत संघको सुझाव न राज्यले सुनेको छ न त महासंघले नै’, ढकालले भने, ‘व्यावसायिक समस्यालाई सम्बद्ध सरोकारवाला निकायमा पुर्याएर समाधान गर्नकै लागि उपाध्यक्ष भएर महासंघमा जान लागेको हुँ।’

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य वृद्धि हुन पुग्दा उद्योगी–व्यवसायी मारमा परेकोसमेत ढकालले बताए। ‘अहिले कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उद्योगहरुको उत्पादन लागत बढ्न गई उत्पादन समेत नबिक्ने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘एकतर्फ मागमा आएको गिरावट अर्कोतर्फ बजारबाट उधारो नउठ्दा बढी समस्या थपिएको छ।’

यस्ता विषयमा समेत सरकार र अन्य सरकारवाला निकायले सुनुवाइ गरी समस्या समाधान गर्नुपर्नेमा ढकालले जोड दिए।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १४:३९