१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चलचित्र विकास बोर्डको सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त


११ चैत, काठमाडाैँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त हुनुभएको हो ।

शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताउनुभयो । “पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको अनुभवले यहाँ काम गर्नेछु, बाहिर हुँदा देखेको समस्यालाई समाधान गर्ने स्थानमा पुगेको छु”, सदस्य अधिकारीले भन्नुभयो । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका सदस्य बुढाथोकीले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गर्नुभएको छ । यस्तै चलचित्र पत्रकार सङ्घ नेपालको चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहनुभएका अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय हुनुहुन्छ । अधिकारीले ‘पञ्चायत’ र ‘बाबु कान्छा’ निर्माण गर्नुभएको छ । बोर्डमा अझै एक सदस्य र केन्द्रीय चलचित्र जाँच समितिमा तीन सदस्य नियुक्त हुन् बाँकी छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १३:२४