१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चेम्बर पदाधिकारीसँग राष्ट्रपतिले भनेः ‘मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चिन्तित छु’


९ चैत, काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ ।

उनले वर्तमान आर्थिक सङ्कट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको बताएको चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १४:३५