८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चर्को ब्याजदर विरुद्ध महासंघ सडकमाः किसानमाथिको अन्यायमा सरकार मूकदर्शक बनेको आरोप


८ चैत, काठमाडौं। अखिल नेपाल किसान महासङ्घले, बैङ्कको ब्याजदर चर्को भएको भन्दै काठमाडौँमा प्रदर्शन गरेको छ । बुधवार काठमाडौँको माइतीघरमा महासङ्घले, चर्को ब्याजदर घटाउनु पर्ने, मिटर व्याजी किसानको समस्या समाधान गरिनु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने माग सहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले चर्को ब्याजदर नियन्त्रण गर, मिटर ब्याज पीडित किसानसँग गरेको सम्झौता लागु गर ,बढ्दो महँगी नियन्त्रण गर ,किसानका ५८ सूत्रीय माग पूरा गर ,लघुवित्तको ऋण मिनाहा गर ,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई कार्यकर्ता पोस्ने थलो नबनाऊ लगायतका प्लेकार्डहरू बोकेका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गदैं , अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठले लघुवित्त संस्थाहरु र मिटर व्याजीले दिनानुदिन नेपाली किसानहरुलाई शोषण गरिरहेको आरोप लगाए ।

उनले बैङ्क तथा वित्तीय संस्थाले मनपरी गर्दा पनि सरकार टुलुटुलु हेरेर मात्र बसेको भन्दै आक्रोश पोखे । उनले भने ‘लघुवित्त संस्थाले गर्दा नेपालका महिला दिदीबहिनीहरू शोषित भएका छन् । मिटर ब्याजीहरुले दिनानु दिनदिन नेपाली किसानहरूलाई शोषण गरिरहेको छ । तर आज सरकार हेरेर बसिरहेको छ । यदि यो सरकार नेपाली किसानहरूको, जनताको सरकार हो भने यीतमाम समस्याहरू हल गर्न सरकार अगाडि बढ्नुपर्छ ।’

उनले सरकार जनताको अभिभाबक भएकाले जनताका समस्या सम्बोधन गर्न ढिला सुस्ती गरेर गैर जिम्मेवार भएको बताए ।
अध्यक्ष श्रेष्ठले आफूहरूको समस्या समाधान नभएसम्म आन्दोलन निरन्तर चलिरहने बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १५:३०