८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपालमय भयो साउथ अष्ट्रेलियाको मुटु (फोटोफिचर)


५ चैत, एडिलेड । एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा नेपाल फेस्टिवल एडिलेड २०२३ भव्य रुपमा सम्पन्न भएको छ । साउथ अष्ट्रेलियाको राजधानी एडिलेड, एडिलेडको पनि मुटु मानिएको एल्डर पार्कमा नेपालको चन्द्र सुर्य अंकित झण्डासंगै नेपाली राष्ट्रिय पोशाक र सांस्कृतिक पोशाकमा सजिएका मानिसहरुको माहोलले वरपरका क्षेत्र नेपालमय भएको थियो ।

विहान १० वजे अन्तराष्ट्रिय खेल मैदान एडिलेड ओवल नजिकबाट शुरु भएको नेपाल परेड टोरेन्स रिभरलाई पार गर्दै कार्यक्रम स्थल पुग्दा पञ्चे वाजा अनि डम्फुको तालमा यात्रा गरेका लस्करले नेपालमय बनाएको थियो । पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन र अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाश नाथ पोखरेलले संयुक्त रुपमा पानसमा बत्ती बालेर फेस्टिवलको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलको उप नेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको समेत उपस्थिति रहेको थियो । भने एनआरएनए अन्तराष्ट्रिय समिति उपाध्यक्ष दुर्गा आचार्य, अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङ लगायत एनआरएनएका अगुवाहरुको उपस्थित रहेको थियो ।

फेस्टिवलमा पन्ध्र हजार भन्दा बढिले अवलोकन गरेको अनुमान गरिएको छ । नेपाल फेस्टिवलको इतिहासमा नै पहिलो पटक आतासबाजी गरिएको थियो । महोत्सवमा ४० भन्दा बढि स्टलहरु रहेका थिए । जसमा नेपाली खानका स्टलहरुमा खानाका पारखीहरुको ठुलै भिड लागेको थियो । भने नेपालको विविधता झल्कने ढंगले निर्माण गरिएको नेपाल हाउसमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल हाऊसमा ठेकीमा दहि मथ्ने देखी तानमा गुन्द्री बुन्ने लगायत परम्परागत रुपमा लोकप्रिय तर हाल उति प्रचलनमा नरहेका विभिन्न सामानहरुको समेत संग्रह गरि प्रदर्शनमा राखिएको थियो । नेपालका विभिन्न सांस्कृतिक राष्ट्रिय पोशाकहरु, बाजासहित नेपाल भ्रमणका लागि नेपालका नक्शा सहितका पोस्टरहरु वितरण गरिएको थियो ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु प्रकाश सपुत, प्रिति आले, एस कुमार, टिका प्रसाई, देबेन्द्र बब्लु सहित एडिलेडका स्थानिय कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । प्रकाश सपुत र प्रिति आलेको व्याटलले रातको १० वजे पनि दर्शकहरुलाई नेपाली सांगितिक माहोलमा नचाएको थियो ।

दैनिकीसंग कुरा गर्दै एनएनआरएनए अष्ट्रेलिया उपाध्यक्ष साउथ अष्ट्रेलिया संयोजकले कार्यक्रम मार्फत प्रवासमा नेपाललाई चिनाउने जमर्को गरिएको बताउदै सहभागी, अतिथि, सहयोगी, स्वयंसेवक सबैमा हार्दिक धन्यवाद व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १६:३६