१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेताको चरित्र सच्चिन आवश्यक छ : नेता पोखरेल


४ चैत, बनियानी । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान सुरु भएको छ, नागरिक-नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।

” उहाँले जनताको समस्याको साझेदारका रूपमा माओवादी केन्द्रले उक्त अभियान सुरु गरेको बताउनुभएको छ । उहाँले जनताको मुद्दा सडक र सदनलाई व्यवस्थित गर्ने अभियानका साथ पार्टी अघि बढेको बताउनुभयो । उत्पीडन र विभेदमा रहेकालाई मात्र नभई आम नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न माओवादी कार्यकर्ता तयार हुनसमेत उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेता झलकसिंह दर्लामीले जनताबीच विश्वास जगाउने गतिविधि गर्दै पार्टी रुपान्तरण अभियानमा जुटेको बताउनुभयो ।

संविधान निर्माणपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकार एक ठाउँमा रहेको समेत उहाँको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि राना, प्रदेशसभा–२ मेचीनगरका अध्यक्ष नरेन्द्र मेचेलगायतले पार्टीको अवस्था, जनगुनासोका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मेचीनगरका नगर अध्यक्ष राजन चिमरियाले नगरको राजनीति अवस्थाको कार्यपत्र पेस गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार २१:३३