१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कर्मचारी माथिको आक्रमण नरोकिए बैंकिङ सेवा नै अवरुद्ध हुने बैंकर्सको चेतावनी


३ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् । शुक्रबार चारवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै  बैंकका कर्मचारीमाथि भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी जस्ता घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ ।

‘विभिन्न समयमा मुलुकमा आइपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितिमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीमाथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दीप्रति घोर आपत्ति छ’ विज्ञप्ति भनिएकाे छ  ‘घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग गर्दछौं ।’

अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन् । कर्मचारीमाथि हुने सांघातिक हमला नरोकिएमा कर्मचारीहरुको सुरक्षा निम्ति बैंकिङ सेवा नै सुचारु हुन नसक्ने चेतावनी समेत दिएका छन् ।

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १५:५९