८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मार्क्सवादी द्धन्द्धवादको नजरमा रहेका अन्तरबिरोधहरु


-सरोजकुमार तामाङ

मार्क्सवादी द्धन्द्धवादको प्रथम नियम ‘प्रतिपक्षहरुको एकत्व र संघर्षमा’ परस्परबिरोधी पक्षहरु शान्तिपूर्ण तरीकाले अस्थित्वमा रहनसक्दैन भन्ने प्रमाण वस्तु र घटनाहरुको विकासले प्रष्ट पारेको छ । प्रतिपक्षहरुको संघर्ष अर्थात अन्तरबिरोध नै पदार्थ तथा चेतनाको विकासको मूल स्रोत हो । मार्क्सवादी द्धन्द्धवादले आन्तरिक र बाह्य, शत्रुतापूर्ण र शत्रुतारहित, प्रमुख र गौण अन्तरबिरोध जस्ता ठूला र महत्वपूर्ण अन्तरबिरोधहरुको बारेमा मात्र अध्ययन गर्दछ ।

आन्तरिक अन्तरबिरोध भन्नाले निश्चित वस्तुको परस्परबिरोधी पक्षहरुको संघर्ष हो । अर्कोतर्फ, बाह्य अन्तरबिरोध भन्नाले आफ्नो वरिपरिको परिवेशसँग र त्यस परिवेशमा रहेका वस्तुहरुसित निश्चित वस्तुहरुको बिरोधाभासपूर्ण सम्बन्धलाई जनाउँदछ । मार्क्सवादी द्धन्द्धवादले वस्तुमा निहित आन्तरिक अन्तरबिरोधलाई नै विकासको स्रोतको मुख्य र निर्णायक तत्वको रुपमा स्वीकार्दछ ।

संशोधनवादी र प्रतिक्रियावादी शक्तिहरु बाह्य अन्तरबिरोधलाई विकासको एक महत्वपूर्ण स्रोतको रुपमा देख्दछ । उनीहरुको दृष्टिकोणमा वर्गीय समाजको विकासको स्रोत परस्परबिरोधी वर्गहरुको बीचको संघर्ष नभई समाज र प्रकृतिबीचको अन्तरसंघर्ष हो भनि ठान्दछ । वास्तवमा त्यो बिल्कुल असत्य र भ्रामक प्रचार हो । समाजमा देखिएको वर्गीय सम्बन्ध र सामाजिक व्यवस्थाको चरित्रले प्रकृतिप्रतिको मानिसको दृष्टिकोण र प्रभुत्वको स्तर निर्धारण हुने तथ्यलाई मार्क्सवादी बिरोधीहरु बुझ्न चाहदैँन् ।

समाजको विकासको स्रोतमा पनि समाजभित्रै निहित वर्गीय आन्तरिक अन्तरबिरोधहरुले भूमिका निर्वाह गर्दछ । कुनैपनि मुलुकले कस्तो सामाजिक व्यवस्था र विकासको दिशाउन्मुख मार्ग स्थापित गर्दछ भन्ने कुरा त्यो मुलुकको आन्तरिक वर्गीय अन्तरबिरोधहरूलाई कसरी समाधान गरिन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

उदाहरणार्थ, नेपालकै सन्दर्भमा भन्ने हो भनेपनि अहिले देखिएको ध्रुबीय राजनीति मध्येहरुबाट काँग्रेसले नेतृत्व गरेको गठबन्धनले दक्षिणपन्थी अवसरवाद हुँदै प्रतिक्रियावादी शक्तिको रुपमा देखा पर्दैछ । कालान्तरमा यो शक्ति साम्राज्यवादी र विश्व वित्तिय पूँजीवादमा पुगेर बिलय हुने हो । अर्कोतर्फ, हामी नेकपा एमालेजनहरु दक्षिणपन्थी अवसरवादको बिरुद्ध लड्दै, ठोस परिस्थितिको ठोस विश्लेषणमा प्राप्त राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्तिको अभियानमा सरिक भएका छौं ।

त्यसैको निमित्त अहिले संगठनलाई वैचारिक र सैद्धान्तिक पक्षबाट मजवुत पार्न ग्रासरुट अभियान संचालन गर्दैछौं । आदेशबाट क्रान्ति हुँदैन, जनतामाथि बाहिरबाट क्रान्ति थोपर्न सकिँदैन भन्दैमा मार्क्सवादी द्धन्द्धवादले बाह्य अन्तरबिरोधहरुको अन्धाभक्त तरीकाले बहिष्कार पनि गर्दैन् ।

यहाँको राजनीतिक परिवर्तनलाई आफू अनुकूल बनाउन प्रयास गर्ने, राजनीतिक बहिष्कार र घेराबन्दी गर्ने, सिमा अतिक्रमण गर्ने, प्रत्यक्ष र जबर्जस्त मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुराहरु निरपेक्ष बाह्य अन्तरबिरोधहरुसँग सम्बन्धित छन्, जसको सामाना हामी सबै मिलेर गर्नुछ किनकि यसले हाम्रो समाजवादप्रतिको विकासमा गम्भीर चुनौती खडा गरेको छ । यो बेला वैचारिक र सैद्धान्तिक हिसाबले फरक-फरक पृष्ठभूमिको राजनीति भएपनि हामीबीच राष्ट्रिय मुक्तिको मोर्चामा एकता देखिँनु पर्छ ।

पूँजीवादी समाजमा बुर्जुवावर्ग र सर्वहारावर्गबीचको अन्तरबिरोध विशेष तीब्र र गहन हुन्छ । यो नै शत्रुतापूर्ण अन्तरबिरोध हो । बुर्जुवावर्गले राजनीतिक अधिपत्य कायम गर्नु, उत्पादनका सबै साधनहरुमाथि स्वामित्व निहित गर्नु र सम्पूर्ण साँस्कृतिक सम्पदाको उपभोगको कारणले गर्दा बुर्जुवावर्ग र सर्वहारावर्गबीचको शत्रुतापूर्ण अन्तरबिरोधहरु गहिँरिदै र तीब्र हुँदै जान्छ, जसले गर्दा समाजमा भीषण संघर्ष र मुठभेट उत्पन्न हुन्छ ।

त्यसैको फलस्वरुप सामाजिक क्रान्तिलाई जन्म दिन्छ । पूँजीवादी व्यवस्थामा शहरले गाउँको शोषण गर्दछ र शहरप्रति किसानको द्धेषभाव उत्पन्न हुँदा शहरीया मजदूरवर्ग र किसानबीच देखिँने निश्चित अन्तरबिरोधहरु नै शत्रुतारहित अन्तरबिरोधहरु हुन् । तर, दुवैको अन्तिम निर्विकल्प उदेश्य वर्गरहित र शोषणरहित समाजको निर्माण भएको हुँदा त्यसमा समस्या पैदा हुँदैन् ।

समाजवादी शक्तिहरु र साम्राज्यवादका प्रतिक्रियावादी शक्तिहरुबीचको अन्तरबिरोध नै आजको आधुनिक समाजको प्रमुख र निर्णायक अन्तरबिरोध हो । समाजवादी शक्तिहरु शस्त्रीकरणको होड रोक्ने, स्थायी विश्व शान्तिको पक्षमा उभिने, जनताको सार्वभौम अधिकार र स्वतन्त्रताको संरक्षण गर्ने प्रयासमा हुन्छ भने अर्कोतर्फ, साम्राज्यवादका प्रतिक्रियावादी शक्तिहरु शस्त्रास्त्रको होड बढाउने, अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र धम्की दिने नीतिलाई अघि बढाउने, स्वतन्त्रताको लागि हुने संघर्षहरुको दमन गर्ने प्रयास गरिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार ११:२०