६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?


-पवित्रा मुडभरी

१ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गलत राष्ट्रिय झण्डाको प्रयोग गरेका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले कैद गराएको कार्यालय प्रयोजनको आधाकारिक तस्बिरमा राष्ट्रिय झण्डाको गलत प्रयोग गरिएको हो । सर्वसाधारणले समेत अनुशरण गरून भनेर झण्डाको सही प्रयोग गर्नुपर्नेमा संविधानको संरक्षक राष्ट्रपतिले नै गलत झण्डाको प्रयोग गरेका हुन ।

राष्ट्रपति पौडेलले छातीको देब्रे भागमा लगाएको लोगोमा गलत झण्डाको प्रयोग भएको छ । नेपालको संविधान र कानुनले निर्दिष्ट गरेको भन्दा फरक झण्डाको प्रयोग गर्नु कानुन विपरित हो । बजारमा नेपालको राष्ट्रिय झण्डाको गलत प्रयोग गरिएका लोगोहरू समेत छ्यापछ्याप्ती रहेका छन । यद्यपी राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा सिकाउने गृहमन्त्रालयले यतातर्फ ध्यान दिएको पाइदैन् ।

राष्ट्रपतिको तस्बिरमा वास्तविकता छोपेर लिपपोत गरेर कोठी हटाएकोमा चाैतर्फी बिरोध भएपछि बुधबारमात्र राष्ट्रपति कार्यालयले नयाँ वास्तविक अनुहारसहितको तस्बिर सार्वजनिक गरेको थियो । तर अनुहार वास्तविक भएको राष्ट्रपतिको उक्त तस्बिरमा नेपालको राष्ट्रिय झण्डको वास्तविक स्वरूप तोडमोड गरिएको छ ।

नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भएको उल्लेख गरिएको छ । तर राष्ट्रपतिले प्रयोग गरेको झण्डामा त्रिकोण रहेको छैन ।

राष्ट्रिय झण्डा माथि किन अपमान ?

राष्ट्रपति मात्र हैन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकृतले नेपाली झण्डाको गलत प्रयोग गरिरहेका हुन्छन् । तर गृहमन्त्रालयले झण्डाको प्रयोगका बारेमा सूचना निकाल्नेबाहेक अर्को कुनै काम गरेको देखिदैन । देशको पहिचनसँग जोडिएको राष्ट्रिय झण्डाको प्रयोगमा उच्चपदस्थहरूबाटै यो हदको लापरवाही हुनु गम्भीर विषय हो । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालय प्रयोजनको तस्बिरमा राष्ट्रिय झण्डाको वास्तविकस्थितिकै लोगो प्रयोग गरिएको छ ।

यस्तो हुन्छ संविधानले व्याख्या गरेको नेपाली झण्डा ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार २१:२८