१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अष्ट्रेलियाको एडिलेडमा `नेपाल हाउस´


१ चैत, एडिलेड । मार्च १८ मा एल्डर पार्क, एडिलेडमा आयोजना हुने नेपाल फेस्टिवल २०२३को आकर्षण नेपाल हाउस निर्माणको तयारी पुरा भएको छ । प्रत्येक नेपाल फेस्टिवलमा दर्शकहरुको प्रमुख आकर्षणहरु मध्येमा नेपाल हाउस पर्दै आएको छ । यसमा नेपालको कला संस्कृति मात्र नभएर महत्वपुर्ण स्थलका स्वरुप नै वा तस्विरहरु राखेर नेपाललाई चिनाउने प्रयास गरिन्छ ।

एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले नेपाल चिनाउने विभिन्न प्रस्तुति मध्ये नेपाल हाउस प्रमुख भएको बताईन । यसमा नेपालको मेची देखी काली सम्ममा हिमाल देखी तराई सम्मका भेषभुषा, परम्परागत सामाग्रीहरु, ऐतिहासिक बिषय बस्तुहरु र महत्वपुर्ण नेपाल चिनाउने धरहरा, मन्दिर, घरहरुका स्वरुपहरु प्रदर्शनी राखिने बताईन् ।

यस वर्षको नेपाल हाउस विशेष हुने नेपाल हाउस निर्माण समितिका संयोजक गणेश पराजुलीले बताए । उनले नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत घर, बौद्ध चैत्य, मन्दिरको स्वरुप निर्माण गरिएको बताए । नेपाली परम्परागत बाजाहरु, ढिकी, जातो, मात्र नभएर हलो जुवा समेत दर्शकहरुले अवलोकन गर्न पाउने समेत बताए ।

पराजुलीले कुमारीको रथ देखि विभिन्न जातजातिका परम्परागत कपडा समेत प्रदर्शन गरिने बताए । अष्ट्रेलियामा जन्मे हुर्केका मात्र हैनन, पछिल्लो समय शहर बजारमा हुर्केर अष्ट्रेलिया आएका युवाहरु पनि हाम्रा परम्परागत बस्तुहरुबाट टाढा छन् त्यस्ता युवाहरुलाई पनि परम्परागत बस्तुहरु देखाउनु जानकार गराउनु उद्देश्य रहेको बताए ।

समिति संयोजक पराजुलीले राज्यका प्रिमियर नै उपस्थित हुने कार्यक्रममा गैर नेपालीहरुको पनि उपस्थित उल्लेखनीय रुपमा हुने भएकाले नेपाली मौलिक बाजा सहित सांस्कृतिक बस्तुहरु प्रदर्शनीबाट नेपालको पर्यटन प्रबर्धनमा समेत सहयोग पुग्ने बताए ।

उनले फेस्टिवेलमा प्रदर्शन गर्ने धरहरा, नेपाली परम्परागत घर, बौद्ध स्तुपा, मन्दिरका स्वरुपहरु अन्य राज्यबाट ल्याउने तयारी गरिए पनि आर्थिक व्यय भार धेरै पर्ने भएकाले दुई हप्ता भन्दा बढिको सक्रियतामा जातो ढिकी, इनारको स्वरुप समेत एडिलेडमा नै निर्माण गरिएको बताए ।

यसैगरि कुमारीको रथ गुठी एसएले र भेषभुषाहरु तमु घी, तामाङ सोसाइटी, मगर समाज लगायतका संस्थाहरुले उपलब्ध गराउने भएको छ । फेस्टिवलमा राखिएका सामग्रीहरुका बारेमा जानकारी दिन अष्ट्रेलियामा हुर्केका पुस्ताका युवाहरु स्वयंसेवकका रुप सक्रिय रहने समेत जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०८:०२