१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मदिराका विज्ञापन तत्काल हटाउन सबै सञ्चारमाध्यमलाई विज्ञापन बोर्डकाे निर्देशन


२८ फागुन, काठमाडाैं । विज्ञापन बोर्डले मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन सबै किसिमका सञ्चारमाध्यमहरुलाई निर्देशन दिएको छ।

आइतबार बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले विज्ञप्तिमार्फत कुनै पनि सञ्चारमाध्यमबाट अब मदिराको विज्ञापन नगर्न नगराउन निर्देशन दिएका हुन्।

विज्ञप्तिमा सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनिसकेको पनि उल्लेख गरेरिएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘सम्मानित सर्वोच्च अदालतबाट फागुन ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्नु, नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिना भित्र बोर्डले अनुगमन प्रतिवेदन अदालतमा पेश गर्नु भनी अन्तरिम आदेश भएको छ’, ‘उक्त विषयमा विज्ञापन बोर्डको फागुन २६ गते बसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाटसमेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकोले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

बोर्डले बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड) मा समेत मदिराको विज्ञापन गर्न नपाइने जनाएको छ। ‘त्यस्ता विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाई समेत अनुरोध गरिन्छ’, बोर्डले भनेको छ।

बोर्डले मदिराको विज्ञापन प्रकाशन भए नभएको अनुगमन गरिरहेको जनाउँदै गौतमले कोही कसैबाट त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएमा विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन ( नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ र प्रचलित कानुन बमोजिम कारवाही हुने पनि जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १९:३३