१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै रहने


२८ फागुन, काठमाडाैं । निर्वाचन अधिकृतको कार्यालयले, उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । उम्मेदवारद्वय नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाले दिएको उजुरी उपर छानविनगर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको हो ।

आफु विरुद्ध उजुरी परेपछि आज विहान यादवले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी कानुनसम्मत भएको भन्दै उजुरी खारेज गर्नुपर्ने माग गरेका थिए । यादवको उम्मेद्वारी कायमै रहने निर्णयपछि अब पार्टीको आधिकारीक उम्मेद्वार उनी नै हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनले भने ‘आयोगको निर्णयपछि अहिले हामी छलफलमा छौ अब आधिकारिक उम्मेद्वार उहाँ नै हो अन्य विषयमा छलफल भै रहेको छ ।’
उपराष्ट्रपतिमा गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले हिजो उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

यादवको उम्मेदवारी खारेज नभएपछि अहिलेसम्म चारै जनाको उम्मेदवारी कायम छ । ती उम्मेदवारहरुलाई आज पाँच बजेभन्दा अगाडि उम्मेदवारी फिर्ताको समय दिइएको छ । पाँच बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छ ।
उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १३:२२