१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रूसको नेपाली दूतावासमा नेपाल प्रमोशन इभेन्ट


६ फागुन, अष्ट्रेलिया । रूसमा नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरहरु लगायत समग्र नेपालको प्रवर्द्धन गर्ने हेतुले नेपाली राजदूतावास मस्कोमा नेपाल प्रमोशन इभेन्ट २०२३ सम्पन्न भएको छ । फ्रेबुअरी १६ मा भएको कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, युट्युबर, ब्लगर, हिमाल आरोही, कूटनीतिज्ञ, प्रोफेसर, व्यवसायी, गैर आवासीय नेपाली संघ तथा रुस-नेपाल मैत्रीसंघ प्रतिनिधि, दूतावासका कर्मचारी लगायत नेपालसँग सम्बन्धित तथा नेपाललाई माया गर्ने विशिष्ट रुसी व्यक्तित्वहरुको सहभागिता रहेको दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कार्यक्रममा उपस्थित विशिष्ट पाहुनाहरुलाई स्वागत गर्दै रुसका लागि नेपाली महामहिम राजदूत मिलनराज तुलाधरले नेपालमा रुसी पर्यटक तथा पर्यटन व्यवसायीहरुका लागि बहुआयामिक अवसरहरु रहेको र त्यसको सदुपयोग गर्नका लागि अनुरोध गरे ।

कार्यक्रममा अतिथि वक्ताका रुपमा सोभियत हिरो तथा कस्मोनाट व्लादिमीर अलेक्जान्ड्रोविच डजानिवेकोभ, नेपालका लागि रूसी महासंघका पू राजदूत भेलिस्किन सेर्गेइ भास्लीवीच, गैर आवासीय नेपाली महासंघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्रि के.सी., गैर आवासीय नेपाली महासंघ राष्ट्रिय समन्वय परिषद् रसियाका अध्यक्ष शिवमणि भुर्तेल, रूसी आरोहि ट्राफिमोभिच दुस्हरिन लगायतले नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृति लगायत विविध पक्षको सम्भावना तथा वर्तमान अवस्था बारे चर्चा गरेका थिए ।

त्यसैगरी, नेपालमा रूसी पर्यटक पठाउने अग्रणी पर्यटन व्यवसायीहरु लियोनिद म्यास्निकोभ र सर्गेई पेशकेवीचले नेपाल पवर्द्धन सम्बन्धि भिडियो तथा पावरपोइन्ट सामग्री प्रस्तुत गरेका थिए । साथै, रूसी बैंकर तथा व्यवसायी युरी गुशेवले नेपालमा लगानीको अवसरको विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा उपस्थितलाई नेपाली संस्कृतिको झल्को दिने गरी जीवित देवी ‘कुमारी’ को प्रदर्शनी गर्नुका साथै नेपाली सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको  अन्त्यमा राजदूत तुलाधरले उठेका प्रश्न र जिज्ञासाको जवाफ एवं आवश्यक जानकारी दिएका थिए । कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथिका लागि नेपाली परिकार सहितको रात्रिभोज दिइएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १८:४६