१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना, नेपालको कुटनीतिक सम्बन्ध १७८ देशमा पुग्यो


६ फागुन, अष्ट्रेलिया । नेपाल र मलावी गणतन्त्रबीच फेब्रुअरी १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसंघका लागि मलावी गणतन्त्रका स्थायी प्रतिनिधि एचई एग्नेस मेरी चिम्बीरी-मोलान्डेले एक संक्षिप्त समारोहमा कूटनीतिक सम्बन्ध स्थापनाको घोषणा गरेका छन ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको बारेमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गरेका छन् । सो अवसरमा दुई राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श समेत गरेको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उनीहरूले समूहको साझा हितको संरक्षण र प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघलगायत विभिन्न मञ्चहरूमा समूहका रूपमा अतिकम विकसित देशहरूको भूमिकाबारे पनि छलफल गरेका थिए । नेपालले अर्को महिना मलावीबाट एलडीसीको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षको भूमिका सम्हाल्दैछ ।

दक्षिणी अफ्रिकामा अवस्थित, मलावी पनि एक भूपरिवेष्ठित देश हो, मोजाम्बिक, जाम्बिया र तान्जानियासँग यसको सिमाना साझा गर्दछ। नेपाल र मलावी दुवै असंलग्न आन्दोलन, ७७ को समूह, अतिकम विकसित देशहरू र भूपरिवेष्ठित विकासशील देशहरू का सदस्य हुन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १८:३१