१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काँग्रेस कार्यकर्ता हुनुको औचित्य सकिएको भन्दै नुवाकोटका पुराना नेता खेमराज सेढाईँले पार्टी छाडे


४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता खेमराज सेढाईँले पार्टी परित्याग गरेका छन । नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भएका नेता सेढाईँले अब काँग्रेसको कार्यकर्ता हुनुको औचित्य सकिएको बताएका छन । उनले लामो विज्ञप्ति जारी गर्दै आफूले कांग्रेस छाड्नुको कारण उल्लेख गरेका छन ।  उनले पछिल्लो समय देश बचाउनका लागि राष्ट्रवादी बन्नुपर्ने बताउँदै आएका थिए ।

यस्तो छ सेढाईँको विज्ञप्ति ।

प्रेस वक्तव्य

युवा–विद्यार्थी कालदेखि विद्यालय एवम् कलेज स्तरबाट नै म देशको प्रजातान्त्रिक आन्दोलनमा सशक्तसँग जोडिदै आएको प्रजातान्त्रिक आन्दोलनको एक योद्धा हूँ । यसक्रममा देशको प्रजातान्त्रिक आन्दोलन कै पर्याय वनेको प्रमुख प्रजातन्त्रवादी एवम् राष्ट्रवादी संस्था तत्कालिन प्रतिवन्धित नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघमा आवद्ध भएर मेरो प्रारम्भिक राजनीतिक पाइला अगाडि वढ्यो । त्यसै सन्दर्भमा सरकारी स्कूलको प्रधानाध्यापक र अन्य विभिन्न व्यवसायिक हैसियतमा रहँदा पनि विशेष गरेर नेपाली काँग्रेस र नेविसंघ मार्फत मैले नुवाकोट जिल्लामा काँग्रेसको संगठन निर्माण गर्न र प्रजातान्त्रिक आन्दोलनलाई अगाडी बढाउन आफ्नो तर्फबाट भूमिका खेल्दै आएको कुरा सबैलाई जानकारी भएकै हो ।
बीपी कोइरालाको व्यक्तित्व र विचारबाट प्रभावित भएर नै व्यक्तिगत जोखिमहरूको पर्वाह नराखी पञ्चायती निरङ्कुश कालमा नै प्रजातान्त्रिक आन्दोलनसँग जोडिन पुगें । त्यस बीचमा मेरो प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्वहरू सर्बोच्चनेता गणेशमान सिंह, तत्कालिन प्रतिवन्धित नेपाली काँग्रेसका सभापति, सन्तनेता कृष्णप्रसाद भट्टराई, कुशल संगठक, महामन्त्री गिरिजाप्रसाद कोइराला लगायत पार्टीका अन्य नेता एवम् कार्यकर्तासँग मेरो राम्रो सम्पर्क रहन पुग्यो । यसमा पनि विशेष गरेर सन्तनेता किसुनजीसँगको मेरो सम्वन्ध विशेष रहन रह्यो । उहाँसँग कै विशेष सान्निध्यताले मलाई पार्टीमा थप सक्रिय भएर लाग्न प्रेरणा मिलेको थियो ।

नेपाली काँग्रेसको नेतृत्वमा भएको २०४६ सालको सफल जनआन्दोलनको परिणाम देशमा प्रजातन्त्र पुनस्थापित भयो । प्रजातन्त्र प्राप्ति पछि अब देश र जनताको उन्नती हुन्छ भनेर त्यसवेलाका म जस्ता तन्नेरी युवाहरूमा कम्ता उमङ्ग थिएन तर त्यो उमङ्ग लामो समयसम्म टिक्न सकेन । पार्टी सत्तामा पुगेपछि सिद्धान्तहीन आन्तरिक द्वन्द्वमा फस्न पुग्यो । पार्टीमा मर्यादा र अनुशासनको पर्वाह हुन छाड्यो । पार्टी कै बहुमतको सरकार बेलगाम घोडा जस्तै हुनपुग्यो । पार्टी र सरकार भित्रका विकृति र विसङ्गतिको खुलेर विरोध गर्दा पार्टीको सर्वोच्चनेता एवम् ०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह नै पार्टी भित्र वस्ने अवस्था रहेन र आँफु समेत मिलेर गठन गरेको पार्टी परित्याग गरेको घोषणा गर्न विवश हुनुभयो भने सन्तनेता किसुनजीले पनि केही वर्ष पछि नै आँफै समेतले स्थापना गरेको पार्टीले आफ्ना स्थापनाकालिन सिद्धान्त र बीपी कोइरालाको “राष्ट्रिय एकता र मेलमिलाप नीति” विपरित बाटोमा गए पछि दुःिखत हुँदै नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभयो । किसुनजीको निकट रहेर पार्टीमा काम गरेको एक कार्यकर्ता हुँदा पनि किसुनजीले वैचारिक विमति राखेर पार्टी छोड्दै गर्दा आँफुले किसुनजीलाई साथ दिन नसकेको त्यो दुःखदायी दिन सम्झँदा अहिले आएर गहिरो पीडाको अनुभूति भइरहेको छ ।

पार्टीले तत्कालिन सात राजनीतिक दलहरूसँग मिलेर सिद्धान्तहीन तवरमा सशस्त्र द्वन्द्व गरिरहेको अतिवादी कम्युनिष्ट पार्टी नेकपा (माओवादी) सँग दिल्लीमा गएर सम्झौता गर्नु नेपाली काँग्रेसको ऐतिहासिक भूल थियो । शान्ति प्रक्रिया र कथित लोकतान्त्रिक आन्दोलनको नाममा नेपाली काँग्रेसले पार्टी स्थापनाका बखतका सिद्धान्त र ०३३ सालमा सिङ्गो नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनकै लागि बीपी कोइरालाले प्रतिपादन गर्नु भएको ‘राष्ट्रिय एकता र मेलमिलाप’ नीति विपरित नेपाली काँग्रेस गएर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतलाई काँग्रेसले आफ्नो प्रमुख विचार र सिद्धान्त माने पछि राष्ट्रिय राजनीतिबाट नेपाली काँग्रेस विस्तारै असान्दर्भिक वन्दै गएको छ । त्यसैको परिणाम हो देशमा बामपन्थी शक्ति बलियो वन्दै गएको र संसदमा सबैभन्दा ठुलो पार्टी भएर पनि एउटा राष्ट्रपति पदका लागि प्रचण्डका अगाडी याचना गर्नुपर्ने निरिह अवस्थामा नेपाली काँग्रेस पुगेको छ । तैपनि म लगायत मुलुकभरका म जस्ता लाखौं सिद्धान्तनिष्ठ कार्यकर्ताहरू नेपाली काँग्रेस सुध्रिएर सही बाटोमा आइपो हाल्छ कि भन्ने झिनो आशामा बाँच्दै आयौं र काँग्रेसको सांगठनिक अनुशासनमा वाधिएर वस्दै आयौं । पार्टी भित्र वसेर हामी आँफैले पार्टीलाई सही मार्गमा ल्याउन असफल रहँदै आयौं ।

नेपाली काँग्रेस पार्टी र यसका नेतालाई सिद्धान्त, विचार, निष्ठा र आदर्श भन्ने कुराको विल्कुलै पर्वाह हुन छाड्यो, सिद्धान्त छोडेर सत्ताको लागि जोसुकैसँग जे पनि सम्झौता गर्न पछि हटेनन् । सिद्धान्तलाई कुनै मतलव नराखी चुनावमा माओवादीसँग गला जोड्नु भनेको काँग्रेस पतनको बाटोमा जानु हो । नेतृत्वकै नालायकीले संघ र प्रदेशको संसदमा सबै भन्दा ठुलो दल हुँदा पनि सरकारको नेतृत्व गर्न असफल भयो । प्रतिपक्षमा वसेर पनि संसदीय पद्धतिको सिद्धान्त विपरित सत्ता पक्षलाई समर्थन गर्न पुगेको छ । प्रचण्डले प्रधानमन्त्रीका हैसियतले मन्त्रिपरिषदबाट कथित जनयुद्ध दिवसका नाममा फागुन १ गते सार्वजनिक विदा घोषणा गर्दा समेत सत्ताको स्वार्थका कारण काँग्रेस विरोध गर्न सकेन । केही थान मन्त्री, राष्ट्रपति पदका लागि माओवादीसँग गला जोडेर वस्ने सिद्धान्तहिन यात्रामा अगाडि बढेको नेपाली काँग्रेस अब सच्चिएर आफ्नो परम्परागत मौलिक सिद्धान्त र विचारको मार्गमा आउँछ र देशको राष्ट्रियता र प्रजातन्त्रको आन्दोलनको नेतृत्व गर्दछ भन्ने कुरामा एउटा पुरानो काँग्रेसी कार्यकर्ता हुनुको नाताले अब काँग्रेसप्रतिको मेरो विश्वास पुरै टुटेको छ । अब काँग्रेसले यही अवस्थामा देशको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न सक्दैन ।

काँग्रेसको पतनसँगै देशको अस्मिता माथि नै खतरा पैदा हुने डरलाग्दो राजनीतिक अवस्था सिर्जना हुँदै गरेको मैले महशुस गरेको छु । काँग्रेस पतनको बाटोमा अगाडी बढेको यस्तो गम्भीर अवस्थामा काँग्रेसकै कार्यकर्ता भएर बसिरहनुको औचित्य देखिन । यस्तो गम्भीर अवस्थामा अब मैले मात्र होइन, आम काँग्रेसजनले पार्टीको स्वार्थ र विचार भन्दा माथि उभिएर देशको स्वार्थमा सोच्ने वेला आएको छ । यसै राष्ट्रिय भावनालाई हृदयङ्गम गर्दै अब हामी काँग्रेसीजनले मात्र होइन आम देशवासीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर राष्ट्रका लागि आफ्नो अन्तरआत्माले निर्णय गर्ने वेला आएको छ भन्ने सार्वजनिक आह्वान गर्दै आजैका मितिबाट इतिहासको त्यो गौरवशाली तर वर्तमानको विचार शुन्य र दिशाहीन नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी भारी मन लिएर नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दछु । साथै प्रजातान्त्रिक बाटोबाट नेपालको राष्ट्रियता र हाम्रा परम्परागत मौलिक नेपाली सनातन धर्म–संस्कृतिको संरक्षण गर्दै देश र जनताको पक्षमा दृढतापूर्वक उभिने विश्वास पनि व्यक्त गर्दछु ।
जय नेपाल !
३ फागुन २०७९

…………………………..
नुवाकोट खेमराज सेढाईँ

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १३:०१