१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कृतिम आँखा र निःशुल्क उपचार गर्न सम्झौता


३ फागुन्, काठमाडाैं । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा ओपन आइज नेपालले कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गर्ने अस्पताललाई रु ११ लाख सहयोगस्वरुप उपलब्ध गराएको हो । जीवनान्त डायग्नोस्टिक सेन्टरसँग रेटिनोब्लास्टोमा बिरामीको निदान प्रक्रियाको रुपमा इमेजिङ (सीटीस्क्यान र एमआरआई) का लागि सहयोगस्वरुप रु तीन लाख उपलब्ध गराएको छ । ओपन आइज नेपालले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सिड्नी अष्ट्रेलियासँगको सहकार्यमा आगामी चार वर्षसम्म रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस हरेक वर्ष फेब्रअरी १५ मा क्यान्सर पीडित बालबालिका र किशोरकिशोरीको सचेतना र समर्थन गर्न मनाइन्छ । रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो । यो रोग पाँच वर्षमूनिका बालबालिकामा धेरै देखिन्छ । १५ हजार नवजात शिशुमध्य एक जनामा रेटिनोब्लास्टोमा समस्या देखिन्छ ।

यस रोगको समयमा उपचार नभए आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्दछ । यो रोग शरीरको अन्य भागमा पनि फैलिएर मृत्युको जोखिमसमेत हुने चिकित्सक बताउँछन् । ओक्युप्लास्टी र ओकुलर ओन्कोलोजी विभागका प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापितले विकसित देशको तुलनामा यो रोगबाट हुने मृत्युदर नेपालमा धेरै भएको बताए । उनका अनुसार नेपालमा हरेक वर्ष ५० जनामा रेटिनोब्लास्टोमा हुनेगर्छ । यस रोगका ९९ प्रतिशत बिरामीले समयमा उपचार नपाए मृत्युको जोखिम हुन्छ । समयमा पहिचान नहुने समस्याका कारण नेपालमा यस रोगका बिरामीको मृत्युदर धेरै छ ।

“नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर पाँच प्रतिशतभन्दा कम पाइएको छ । समयमा उपचार गरे रोग निको पार्न सकिन्छ तर यसका लागि सबै उपचार एउटै अस्पतालबाट सम्भव भइरहेको छैन”, डा स्थापितले बताए । उपचारका लागि केमोथेरापी, थरमोथेरापी, क्रायोथेरापी, रेडियोथेरापी र शल्यक्रिया आवश्यक हुन्छ । तर एउटै अस्पतालबाट यी सबै उपचार पाउन सम्भव नहुँदा बिरामीलाई सास्ती हुने गरेको उनको भनाइ छ ।

रेटिनोब्लास्टोका मुख्य लक्षण आँखाको नानीको कालो भागमा सेतो टीका, असमान्य रातो देखिनु, डेढोपन, आँखा फुलिने, सुन्निे, आकार ठूलो हुँदै जाने र बाहिर आउने हुन् । वंशाणुगत कारण पनि यो रोग बालबालिकामा आउन सक्छ । ओपन आइज नेपालले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई रेटिनोब्लास्टोमाका लागि उपचार सहयोग पुर्याउँदै आएको छ । यस संस्थाले यसअघि १३ जना बिरामीलाई निःशुल्क उपचार र १४ जना बिरामीलाई कृतिम आँखा उपलब्ध गराएको संस्थापक अध्यक्षसमेत रहेकी डा स्थापितले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १९:०४