१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा


३ फागुन, सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए ।

मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् ।

यता, नगर उपप्रमुख पुनम कर्णले शिक्षकहरुको समस्या समाधान चाँडै गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उनको भनाइ छ ।

कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन् । करिब १५-२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १४:५३