६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

 छैटौँ ‘निफ’को जुरी कमिटीले पूर्णता पायो


३ फागुन, काठमाडाैँ । छैटौं ‘निफ’को जुरी कमिटीले पूर्णता पाएको छ । आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ ले पूर्णता पाएको अध्यक्ष केपी पाठकले जानकारी दिएका छन । पछिल्लो पटक फिचर फिल्म तर्फको जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भएका छन् । उनी खासगरी अभिनेता, लेखक र निर्माता हुन् । उनका कयौं सृजनाहरु विश्व प्रसिद्ध छन् ।

यसरी जेफ मोनाहानको मनोनयनसँगै फिचर फिल्मतर्फको जुरी कमिटीले पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा चर्चित अभिनेत्री प्रियंका कार्की मनोनित भइसकेका छन् ।

त्यसैगरी छोटा तथा बृत्तचित्र तर्फको जुरीमा प्रा. डा. इतामी बोर्जन मनोनित भएकी छन् । उनी प्रख्यात फिल्म विशेषज्ञ र शिक्षाविद् हुन् । क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले धेरै वर्षदेखि एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकिछन् ।

प्रा.डा. इतामी बोर्जनको मनोनयनसँगै छोटा तथा डकुमेन्ट्री फिल्म तर्फको जुरीले पनि पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन प्रा. ली रान र सदस्यमा माया एकेडेमीका इन्द्र लाल बलामी मनोनित भइसकेका छन् ।

यस बर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १०:५९