१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

प्रचण्डले अझै बुझ्न नसकेका विषयहरू जसका कारण कम्युनिष्ट आन्दोलन समाप्त हुँदैछ


-सरोजकुमार तामाङ

प्रचन्डको गलत रवैयाका कारण जनजिविकाका मुद्दाहरु उठान गर्ने रवि लामिछाने र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । संसदीय व्यवस्थामा दलहरुबीच सहकार्य र तिक्तता हुनु कुनै आकाशै खस्ने कुरो नभएर सामान्य कुरो हो । तर, हामी कम्युनिष्टहरुले के कुरो भूल्नु हुँदैन भने यसरी कम्युनिष्ट सरकार निर्माण गर्दै र भत्काउँदै जाने हो भने हामीले भन्न खोजेको वैज्ञानिक समाजवाद व्यवहारत: लागू गर्ने दिशामा आफैले वाधा उत्पन्न गर्नु हो । यहाँ रास्वपा सरकारबाट बाहिरिनु प्रमुख बिषय हुँदै होइन् ।

रास्वपा जसरी बाँकी सत्ता घटकहरुपनि एकपछि अर्को गर्दै कम्युनिष्ट सरकारको साथ छाड्दै जाने हो भने हाम्रो कम्युनिष्ट आन्दोलनले सार्थकता लिन सक्दैन् । विगतमा कम्युनिष्ट आन्दोलनले सुस्पष्ट दिशा निर्देश गर्न नसक्ने मुख्य कारणहरु मध्ये यो पनि एक हो । कि रक्तपुर्ण क्रान्ति गरौं कि त शान्तिपूर्ण आन्दोलनबाटै सर्वहारावर्गीय राज्यसत्ता कब्जा गर्ने हो भने, बनेको कम्युनिष्ट सरकारहरु ढालेर हामीले भन्ने गरेका वैज्ञानिक समाजवादको उदय गर्न सक्दैनौं ।

प्रचन्डका कच्चा राजनीतिले गर्दा एकपछि अर्को गर्दै कम्युनिष्टका आधार-इलाकाहरु भत्किदै गएका छन् । यसको मतवल र सबैले प्रस्टसँग बुझेका कुरा के हुन भने, हामी घोर दक्षिणपन्थी अवसरवाद हुँदै प्रतिक्रियावादी शक्तिको रुपमा उदाउने मार्ग समात्दैछौं । विगतमा नेकपा एमालेलाई दलाल संसदीय अभ्यासमा व्यस्त भन्दै जंगल कुद्ने तत्कालीन नेकपा (मशाल) का महामन्त्री प्रचन्ड आज हामी नेकपा एमालेले शान्तिपूर्ण तवरको निर्वाचनबाट भएपनि कम्युनिष्ट आधार र इलाकाहरु जोगाउँदै जनताको बहुदलीय जनवादको मार्गनिर्देशमा यो मुलुकमा नौलो जनवादी क्रान्तिसँगै समाजवादको सहि बाटो हिड्दै गर्दा किन त्यही कम्युनिष्ट आधार र इलाकाहरुलाई ध्वस्त बनाउने कुबाटोमा हिड्दैछ ?

प्रचन्डले जनयुद्धबाट बनाएका कम्युनिष्ट आधार-इलाकाहरु त जोगाउन सकेन्न, सकेन्न । तर, नेकपा एमालेले शान्तिपूर्ण तरिकाले जोगाउँदै आएको कम्युनिष्ट आन्दोलनलाई यसरी कैंची चलाउँदै जाने हो भने वैज्ञानिक समाजवाद हुँदै सम्यावादमा पुग्ने निर्विकल्प लक्ष्यमा आँच आउनेछ । जनजिविकाका सवालहरुमा सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादका नेपाली नाईके काँग्रेस भन्दा रास्वपा केही मात्रमा भएपनि जनताप्रति उत्तरदायी र जवाफदेही थिए ।

हाम्रा विद्यमान समाजको प्रधान वर्गीय शत्रु भनेकै अहिलेको नेपाली राजनीतिक धरातलमा काँग्रेसै हो । उसले समाजको श्नमजीवीवर्गका मुद्दाहरुलाई चट्कै छाडेर घरेलु तथा वैदेशिक प्रतिक्रियावादी शक्तिहरुको खेमालाई साथ र समर्थन गर्दै आएको छ । यसले गर्दा काँग्रेस आज हाम्रो समाजको प्रगतिशील विकासको तगारो मात्र नभएर राष्ट्रिय मुक्ति क्रान्तिको बाधक तत्व पनि हो । यस्तो बेला नेकपा एमालेका श्नद्धेय अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमाले पत्तासाफ गर्दै हिड्ने प्रचन्डसँग सहकार्य गर्दै सरकार निर्माण गर्नु भनेको कम्युनिष्ट आन्दोलनलाई थप क्षति हुनबाट जोगाउने रणनीति नै थियो । त्यो कुबुद्धिका धनी विचौलिया कम्युनिष्ट प्रचन्डले बुझ्नसम्म सकेन् ।

यसरी सरकार निर्माण गरेसँगै बारम्बार कम्युनिष्ट आन्दोलनलाई धक्का दिने कार्य कम्युनिष्ट भनौदाँहरुले नै गर्दै जाने हो भने, पतनको मार्ग हामीबाट धेरै टाढा छैन् । त्यसको परिणाम, यो मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनताबाट खोस्दै साम्राज्यवादी शक्तिको पोल्टामा पार्नु हो । जनताको त्याग र तपस्याबाट ल्याइएको हाम्रो राजनीतिक स्वाधीनता, पराधीन हुनु हो भने आर्थिक स्वाधीनताको मुद्दा काल्पनिक कथामा सीमित हुनेछ ।

बारम्बार कम्युनिष्ट आन्दोलनको दाम्लो चुडालेर घर न घाटको बनाउने काँग्रेससँगै मिलिभगतमा सत्तासमीकरण गर्दै जाने हो भने अबदेखी प्रचन्डले आफूलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षका नायक नसम्झे हुन्छ किनकि विगतमा राजनीतिक रुपान्तरणको क्रममा प्राप्त गरिएका यी ऐतिहासिक उपलब्धिहरुलाई एकाएक गर्दै दिनप्रतिदिन उल्टाउने नीति प्रचन्डको सत्तामोहको कारण जोसँग पनि मितेरी साईनो जोड्दै जाने प्रवृतिले जनताको सार्वभौमसत्तासम्पन्न गरिमामय सदनमा त्यही सामन्तवादको आधार र अवशेषहरुलाई जिवित तुल्याउने राप्रपाले गर्दै आएको छ ।

गणतन्त्र ठाउँमा राजतन्त्र र धर्मनिरपेक्षको ठाउँमा सापेक्षको समय असुहाउँदो मागहरु राख्दै आउनेहरुको मण्डली निर्माण हुँदैछ । आज नेकपा एमालेलाई राष्ट्रपति पद चाहिएको पनि यसैको लागि हो । हाम्रो राष्ट्रियता खतराको बिन्दू नजिक छ । त्यो साम्राज्यवादी शक्तिको जंजीरलाई तोडेर हाम्रो राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई जोगाउन आज हामीले यही संसदीय व्यवस्थाभित्र रहेर राष्ट्रिय मुक्तिको क्रान्ति गर्दै जानुछ । त्यसका निम्ति सामाजिक राष्ट्रवादी शक्तिहरुको केन्द्रको रुपमा रहेको राष्ट्रपति पदमा आफ्नो राष्ट्रियताको निम्ति विगतदेखी लड्दै आएको जनताको शक्ति नेकपा एमालेलाई हुनुपर्छ ।

हैन, यो विचार गलत हो जस्तो लाग्छ भने, यो मुलुकको स्रोत-साधन र भौगोलिक अखण्डतामा आँच पुर्याउने श्नृंखलावद्ध असमान सन्धि-सम्झौताहरु गर्दै जाने काँग्रेस र प्रतिक्रान्तिको मार्गमा हिड्ने प्रचन्ड नेतृत्वको माओवादी दलहरुले विगतमा सरकार समाल्दा राष्ट्रघाती एमसीसी र विवादस्पद नागरिकता विधेयकलाई जनचाहना विपरीत सार्वभौमसत्तासम्पन्न सदनबाट अनुमोदन गर्नेहरुबाट यो मुलुकको राष्ट्रियता जोगिदैँन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १३:३६