१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

प्रचण्डको दुर्बल शासकीय स्वरूप !


-सरोजकुमार तामाङ

नागरिकता विवादले एम्बुसमा परेको रवि लामिछानेको गृहमन्त्री पदमा सत्तारुढ दलहरुबीच विगतमा भएको सहमति अनुरुप रास्वपाको हुनुपर्नेमा दुर्बल प्रधानमन्त्री प्रचन्डले आफ्नो पेवाको किस्ती बनाउनु सत्ता समीकरणमा दरार पैदा गर्नु हो । यो माओवादीको निजी मामिला पक्कै पनि हुँदै होइन् । सत्तारुढ दलहरुभित्रको भागबण्डामा रास्वपालाई परेको गृहमन्त्रालयमा प्रचन्ड र माओवादी दलले किचलो निकाल्नु भनेको यो सरकारको आयु प्रचन्ड स्वयमले छोट्याउँदै जानु हो । यो प्रचन्डको अस्थिर राजनीतिको परिणाम हो । प्रचन्डको यस्तै प्रवृत्तिले गर्दा छिट्टै यो सरकारले घाटको यात्रा तय गर्दैन भन्न सकिन्न ।

विदेशीलाई अंगीकृत नागरिकता सित्तैमा बाँडन संसदबाट विधेयक पास गर्ने प्रचन्डले जनमतबाट सत्तामा पुगेका रवि लामिछानेलाई गृहमन्त्री दिन नदुखेको टाउको किन दुखाउँछ ? विदेशीसँग बिहे गरेर यही मुलुकमा राजनीति गर्ने प्रचन्ड पुत्री रेणु दहालको नागरिकता चाहिँ छानबिन हुनुपर्छ कि पर्दैन् ? अपार जनमतले रवि लामिछानेलाई साथ सहयोग गर्दा पनि प्रचन्ड अझैं उसलाई गृहमन्त्रालय दिन तयार हुँदैन भने आफू भन्दा शक्तिशाली भएर कोही राजनीतिमा आए उसैको भविष्य धुलोपिठो गर्ने प्रचन्डको दाउ देखिन्छ ।

रविकै नागरिकता बाधा हो भने आफ्नै छोरीको नागरिकता नेपाली हो कि हैन, त्यो पहिले छानविन गरौं । अब रवि लामिछाने यो मुलुकमा गृहमन्त्री भएर आएको खण्डमा सबैको नागरिकता छानविन हुनेछ र त्यसले प्रचन्डको परिवार पनि अछुतो रहने छैन् । त्यो प्रचन्डको एकलव्य बुझाई हो । होस् पुर्याएर मात्र अरुको राजनीतिक भविष्यमाथि कैंची चलाउँदा राम्रो हुन्थ्यो । त्यसैले नेपाली नागरिकता नलिएका धेरै काँग्रेसी जत्थाहरुसँग मिलेर यो मुलुकलाई फसाउने प्रचन्डको दाउ हुनसक्छ ।

विधि र पद्धति अनुसार रविलाई गृहमन्त्री बनाउन प्रचन्ड असमर्थ हो र नैतिकताकै कुरा गर्ने हो भने पनि कृष्णबहादुर महराको यौन काण्डलाई निमयै खरिद गरेर भएपनि क्लिन चिट दिन सक्नेले रविलाई उसैको गृहमन्त्री पद दिन किन नसकेका हुन् ? लोकतन्त्रमा जनमतबाट मन्त्री हुनुपर्नेमा जनताले नपत्याइएका तर प्रचन्डको खल्तीबाट जन्मिने नारायणकाजी श्नेष्ठहरु जस्ता हुनुपर्छ भन्ने नजीर स्थापित गर्न खोजिएकै हो त ?

भर्खरै मात्र प्रदेश नम्बर एकमा आफ्नै छोरी ज्वाँईलाई मन्त्रीसम्म बनाउन भ्याए । त्यो मन्त्री बन्ने भाग्यमानी व्यक्ति कान्छी छोरीसँग बिहेगरेपछि मात्र माओवादी प्रवेश गरेका थिए । यतिमात्र होइन, आफ्नै ठाँडो आदेशमा अघिल्लो प्रदेशसभामा मूर्तीचोर गैरसांसदलाई कर्णाली प्रदेशको मन्त्री बनाएको प्रचन्डले बिर्सेकै हो ? यसरी मेरो निगाह बेगर कोहिपनि मन्त्री बन्न सक्दैन भन्ने भाष्य बिना फेदका प्रचन्डले निर्माण गर्न खोजिएको हो भने त्यो दिवा सपना मात्र हुनेछ ।

जनताले लडेर ल्याइएको यो व्यवस्थामा जनमतकै आडमा छोटे राजन बन्ने सपना चुलबुले प्रचन्डले नबुने हुन्छ । सत्ताकै निम्ति जुन घाटको पानी पिउन पनि तयार प्रचन्डले विचौलियाको रुप नदेखावस् । विगतमा प्रधानमन्त्री पदका लागि छटपटी रहदाँ त्यो बेला नेकपा एमालेले साथ र समर्थन नगरेको भए आज प्रचन्ड प्रधानमन्त्री बन्न सक्दैन्थ्यो । विगतको निर्वाचनमा रुखलाई भोट माग्नेहरु त्यही काँग्रेसले घर न घाटको बनाएको यति चाँडै कसरी बिर्सन सकेका हुन् ?

जनताको विश्वासिलो दल नेकपा एमालेको जग र श्नद्धेय अध्यक्ष केपी ओलीको त्यो बार्दलीले यो ठाउँसम्म पुगेको यति चाँडै नबिर्सनु पर्ने हो । हिजोको सहमति अनुसार रास्वपाले गृहमन्त्रालय पाउनु पर्नेमा उल्टै अठ्याएर राख्छ भने वेश्याले भन्दापनि छिटोछिटो रुपरंग फेर्ने विचौलिया कम्युनिष्ट प्रचन्डले आगामी राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेलाई धोका दिदैँन भन्ने के ग्यारेन्टी ?

आज काँग्रेसको अस्थायी आडमा हिम्मत गर्नेले त्यही काँग्रेसलाई भोट माग्दै हिड्ने प्रचन्ड किन त्यही दलको समर्थनमा प्रधानमन्त्री नबनेका हुन् ? विगतको निर्वाचनमा भोट जति काँग्रेसको पोल्टामा हाल्ने अनि प्रधानमन्त्री बन्न पत्तासाफ गर्छु भन्दै हिड्ने दल नेकपा एमालेबाट हुनुपर्ने र जुन दलले धोका दियो अहिले आएर उसैलाई आन्तरिक रुपमा राष्ट्रपतिको पद थमौती गर्न प्रचन्ड तयार हुन्छ भने यिनलाई नेकपा एमाले लगायत अहिलेका कुनैपनि सत्तारुढ दलहरुले बोकि राख्नु आवश्यक छैन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ११:०१