१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

म्याच फिक्सिङ प्रकरणः दुई क्रिकेटर पक्राउ


९ माघ, काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुई जना क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र क्रिकेटर आदिल अन्सारी रहेका छन् । उनीहरुलाई सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

यसअघि म्याच फिक्सिङको चर्चा बाहिरिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए । खेलाडीले पारिश्रमिक नपाएको र म्याचफिक्सिङको चर्चा बाहिरिएसँगै उनले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्रचार गरिएको थियो ।

कीतिपुरस्थित त्रिवि खेल मैदानमा गत पुस १९ गते मंगलबारको पहिलो खेल करिब दुई घण्टा ढिलो भएको थियो । काठमाडौं नाइट्स र विराटनगर सुपर किंगका खेलाडीले पारिश्रमिक नपाएको भन्दै प्राविधिक टोलीसमक्ष टिम लिस्ट लिन माननेन् । दुवै टोलीका मालिकले पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरुभएको थियो ।

उक्त लिगमा कमेन्टेटरको भूमिकामा आबद्ध सचिन तिमल्सेना म्याच फिक्सिङको शंका लागेसँगै जिम्मेवारीबाट मुक्त भएका थिए । त्यससँगै यस विवाद सतहमा आएको थियो । खेलपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको एक खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १२:३३