१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

हत्या आरोपी एमाले सांसद पक्राउ गर्न गृहमन्त्रालयको पत्र, प्रहरीले गृहमन्त्रीलाई नटेरेको भन्दै विज्ञप्ति


६ माघ, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या आरोपी एमाले सांसदलाई पक्राउ गर्न मौखिक निर्देशन प्रहरीले नमानेको भन्दै लिखित पत्राचार गरेका छन । महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यसअघि आदेश दिएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले पत्र नै पठाएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति मार्फत महतोलाई पक्राउका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको उल्लेख गरेका छन । मन्त्रालयको विज्ञप्तिमा पटक पटकको निर्देशन प्रहरीले नमानेको उल्लेख गरिएको छ । मन्त्रालयले प्रहरीले निर्देशन पालना नगरेको भन्दै निरीहताले भरिएको विज्ञप्ति जारी भएपछि सामाजिक सञ्जालभरी त्यसको चर्को आलोचना भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेम बहादुर विकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मी महतोसमेत भएको कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका प्रतिवादी महोत्तरी जिल्ला साविक निगौल गाविस-५ भई हाल गौशाला नगरपालिका-२ निवासी लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न माननीय उपपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पकाउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारवाही अगाडी बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।’

महतोमाथि मधेश आन्दोलका क्रममा भएको झडपमा घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग छ।

प्रहरीले गृहमन्त्रीलाई टेरेन, १० गतेको प्रतिक्षामा प्रहरी !

गृहमन्त्रालयको विज्ञप्ति अनुसार गृहमन्त्रीको आदेश प्रहरीले टेरेन अर्थात उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको आदेश प्रहरीले अस्वीकार गरेको छ । विज्ञप्तिमा एमाले सांसद पक्राउ गर्न दिएको निर्देशन कार्यान्वयन नगरेको भनिएको भए पनि गृहमन्त्रीका त्यस्ता धेरै आदेश कार्यान्वयन नभएको विज्ञप्तिले संकेत गर्छ ।

पत्रकार हुँदा टेलिभिजनको पर्दाबाट रवि लामिछानेले जे कुराको बिरोध गर्थे मन्त्रीभएपछि उनले ती सबै कुरा क्रमशः व्यहोरेका छन । उनले धेरै उपप्रधानमन्त्री राख्ने कुराको बिरोध गर्थे उनी त्यस्तै हुलको उपप्रधानमन्त्री मध्येको एक बन्न पुगे । मन्त्रीहरूले ड्याङ ड्याङ कारबाही गर्नुपर्छ चेतावनी दिएर बार्गेनिङ गर्ने हो भनेर प्रश्न गर्थे अहिले उनै दिनदिनै छिनछिनै कारबाहीको चेतावनी दिन व्यवस्त छन ।

दुर्घटनासँग जोडेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री र गृहमन्त्रीलाई मासु भात खाएर रमाओ भनेर आशिश दिने रविले केहीदिनअघि यति एयरलान्सको दुर्घटना गृहमन्त्रीकै हैसियतमा व्यहोर्नुपर्यो । उनी सशस्त्र प्रहरीको मुख्यालय पुगे तर नेपाल प्रहरीको मुख्यालयमा स्वागत पाउन सकेनन् । प्रहरी प्रशासनका हाकिमहरू भने माघ १० को प्रतिक्षामा बसेका छन ।

सर्वोच्चको संवैधानिक इजलाशको उनको सांसदको योग्यतामा प्रश्न उठाउँदै दायर रिटको अन्तिम सुनुवाइ हुँदैछ । सामान्य कानुन जानेका मन्छेले पनि बुझ्ने विधि रविले नमानेका कारण धेरैजसोले उनको सांसद पद खारेज हुने पूर्वानुमान गरेका छन । सोही कारण प्रहरीले पनि उनको आदेश नटेरेको अनुमान गरिएको छ ।

प्रहरीका प्राय हाकिमसँग पत्रकारको रूपमा सिधा सवाल जवाफ गरेका लामिछानेलाई गृहमन्त्रीको रूपमा पाउँदा उनीहरूले सहजै अभिभावकको रूपमा स्वीकार गर्न सकिरहेका छैनन् । उनीहरूले गृहमन्त्रीको रूपमा रविको आदेश कार्यान्वयनका लागि सोही मुद्दालाइ पर्खीरहेको देखिन्छ । सर्वोच्चको संवैधानिक इजलाशले प्राप्त प्रमाण र कानुनलाई भावुक नभइ कार्यान्वयनमा जाँदा लामिछानेको सांसद पद गुम्ने निश्चत छ ।

लामिछाने माथि नागरिकताको विषयमा कारबाही भए उनी माथि दोहोरो राहादनीको मुद्दामा अुनसन्धान भएर कारबाही हुने निश्चित नै छ । त्यसमा कानुन अनुसार कारबाही हुँदा उनलाइ न्यूनतम पनि १ वर्ष कैद र जरिवानाको फैसला हुन्छ । यद्यपी सर्वोच्च अदातल अहिलेसम्म यो विषयमा प्रवेश गरेको छैन ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार २१:५७