१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

हुँदै नभएको रेडियोका नाममा सरकारी कोषको १३ लाख स्वाहा, एमाले धादिङको संलग्नता


४ पुस, धादिङ । हुँदै नभएको रेडियोका नाममा धादिङमा राज्य कोषको १३ लाख रूपैयाँ भुक्तानी भएर कामै नगरी स्वाहा पारिएको छ । नेकपा एमाले धादिङको प्रत्यक्ष संलग्नतामा रेडियोका नाममा सीमित व्यक्तिले राज्यकोषको दुरूपयोग गरेपछि एमालेभित्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म पुगेर अनुसन्धान गराउने विषयमा समेत छलफल चल्न थालेपछि यो विषय बाहिर आएको हो ।

पार्टीको नाम र विश्वासमा राज्य कोषको पैसामा केही व्यक्तिले दुरूपयोग गरेको विषय बाहिर आएको भन्दै आफूले त्यसमा निष्पक्ष छानविनको गरेर दोषीमाथि कारबाही लागि माग गरेको र अख्तियारमा उजुरी दिएको एमाले धादिङका एक सचिवालय सदस्यले दैनिकीलाई जानकारी दिए । उनले पार्टीकै नाम बेचेर सरकारी स्रोतको दुरूपयोग हुनु गलत रहेको पनि बताए ।

नेकपा एमालेका नेता एवं पूर्वराज्यमन्त्री डा रामकुमार अधिकारीले प्रदेशसभा सदस्यका हैसियतले विनियोजन गर्न मिल्ने रकमबाट १३ लाख रूपैयाँको योजना दिएका थिए । उक्त रकम सिधै रेडियो सौर्यका नाममा लिन नमिल्ने भएपछि रेडियो सौर्य बन्ने प्रक्रियामा रहेको कृषि रेडियोका नाममा ‘कृषि रेडियो सूचना प्रविधि प्रयोगशाला निर्माण’ शीर्षक राखेर निलकण्ठ नगरपालिकासँग योजना सम्झौता भएको छ । सम्झाैता गर्दा उक्त योजनाको नाम संशाेधन गरेर धुनिवेशी सिकाइ केन्द्र राखिएको छ ।

निलकण्ठ नगरपालिकासँग सम्झाैता गरेर रकम भुक्तानी भएको योजनाको शीर्षक ।

नगरपालिका स्रोतका अनुसार योजना सम्झौता गर्दा अध्यक्षमा रमेश अधिकारी, सचिवमा राधिका सापकोटा र कोषाध्यक्षमा श्याम लामा रहेको उपभोक्ता समिति गठन गरिएको थियो । उक्त समितिले २०७९ साल जेठको अन्तिमतिर योजना सम्झौता गरेको छ । वैशाख अन्तिममा नगरपालिकामा नयाँ नेतृत्व आएपछि योजना अनुगमनमा नगरपालिकाका उपप्रमुख (उपमेयर) दीपक विश्वकर्मा पुगेका थिए । उनले तीन पटक स्वयं उपस्थित भएर योजनाको अनुगमन गरेको बताएका छन ।

अनुगमन टोलीले योजनामा शीर्षक अुनसार काम नभएको बताउँदै भुक्तानी हुन नसक्ने बताएपछि भुक्तानी हुने १३ लाख मध्येबाट २ लाख रूपैयाँ घुस दिएर मिलाउने विषयमा कुरा भएको छलफलमा सहभागीले रेडियोका अन्य सञ्चालकलाई दैनिकजसो बताउने गरेको स्रोतले बताएको छ ।

कृषि रेडियो सूचना प्रविधि प्रयोगशाला निर्माणमा नाममा केही काम नभएको भए पनि पैसा भुक्तानी भएर उपभोक्ता समितिले हिसाब फरफारक गरिसकेको छ । २०७८ को फागुन महिनादेखि असारसम्म रेडियो कार्यालय भनेर भाडा समेत तिरिएको रेडियोकै एक सञ्चालक बताउँछन ।

यसअघि जिल्ला समन्वय समितिको प्रमुख समेत रहेका एमाले धादिङका संस्थापक नेता जगन्नाथ नेपालले बेलायती सहयोगमा धादिङमा काम गरिरहेको पुर्णिमा भन्ने संस्थाको झण्डै १२ लाख रूपैयाँ बराबरको सामाग्री सोही रेडियोका लागि दान दिएका थिए । उक्त दान दिएको समाग्रीहरू मध्येको केही समान केही साताका लागि रेडियो कार्यालय भनेर खोलिएको ठाउँमा राखिएको पनि थियो तर पछि ती सबै समानहरू पनि गायब पारिएको एमाले धादिङकै नेताहरू बताउँछन ।

जिल्ला समन्वय समितिले जिम्मा लिएर रेडियो साैर्यका लागि भनेर दिएको सामाग्रीको सूची ।

सरकारी पैसा लिनका लागि धादिङबेसीमा केही महिना रेडियो कार्यालय साइनबोर्ड बिना राखिएको भए पनि अहिले त्यसको कुनै चिनो समेत छैन ।  रेडियोका नाममा कुनै सामान नभएपछि अनुगमनका दिन प्रतीक कम्युटरबाट सामानहरू लगेर देखाइएको एमालेका धादिङका एक जिल्ला कमिटी सदस्यले जानकारी दिए । योजना सम्झौतादेखि रेडियो सौर्य बनाउने अभियानमा प्रमुख भूमिका खेल्ने राधिका सापकोटा एमाले धादिङकै उपसचिव रहेको पनि उनले बताए ।

रेडियोमा नेकपा एमालेको संलग्नताको कुरा समेत जोडिएपछि हामीले एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीसँग चासो राख्दा उनले जिल्लाको प्रचार विभागलाई उक्त कामको जिम्मेवारी दिएको रेडियोसँग समन्वयका लागि राधिका सापोटालाई तोकिएको बताए । उनले रेडियो चलाउन केही सहयोगहरू पनि जुटाइएको तर कामचाहिँ सोचे अनुसार हुन नसकेको बताए । यद्यपी उनले यसभित्रको अन्य गितिबिधिका बारेमा आफू जानकार नरहेको बताए ।

रेडियोका लागि १३ लाख रूपैयाँ बजेट दिएका एमाले नेता डा अधिकारीले भने आफूले रेडियो सौर्यकै लागि भनेर योजना दिएको स्वीकार गर्दै रेडियोका लागि आवश्यक हुँदा अन्य थप सहयोग समेत गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । रेडियोलाई सहयोग गर्न भन्दै एमाले घादिङले तल्ला कमिटीहरूमा परिपत्र समेत गरेको बुझिएको छ । गाउँकमिटीका कार्यक्रमहरूमा समेत गएर रेडियोका नाममा आर्थिक संकलन भएको रेडियो सञ्चालक समितिकै सदस्यहरूले बताएका छन ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १२:४७