२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपाली पत्रकारिताबारे जर्मन राजदूत प्रिन्सको आपत्तिजनक अभिव्यक्ति, किन चुप छ महासंघ ?


२ पुस, काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सले नेपाली पत्रकारिताबारे निकै विवादित र आपत्तिजनक अभिव्यक्ति दिएका छन । सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँग मिलेर सुरू गरेको एक सिएमआर नेपाल जर्नालिजम एकेडेमीको शुभारम्भ गर्दै जर्मनीका राजदूत प्रिन्सले आपत्तिजनक अभिव्यक्ति दिएका हुन । भ्रमपूर्ण सूचना रोक्ने नाममा परियोजना सिर्जना गरेर केहीका लागि रोजगारी सिर्जना गर्ने राजदूत स्वयंले भ्रमपूर्ण अभिव्यक्ति दिएका हुन ।

उनले मंसिर १६ गते जर्नालिज्म एकेडेमीको शुभारम्भ गर्दै नेपाली पत्रकारहरूले चिनियाँ पैसा लिएर उनीहरूकै कन्टेन्ट प्रकाशित गर्ने गरेको भन्दै गम्भीर आपत्तिजनक अभिव्यक्ति दिएका हुन । उनले दिएको उक्त आपत्तिजनक अभिव्यक्ति बारेको समाचार नेपाल लाइभ टुडेमा प्रकाशित भएको छ । अन्य मिडियामा प्रकाशित समाचार सिएमआर आफैँले उत्पादन गरेर पठाएका कारण उनको विवादित अभिव्यक्ति सम्पादन भएको देखिएको छ ।

 

जर्मन राजदूतले एमसीसीका बारेमा अमेरिकाको पक्षमा समाचार प्रकाशित नभएकोमा रोष प्रकट गर्दै त्यसको दोष चीनलाई दिनेक्रममा नेपाली सञ्चारमाध्यम, पत्रकार र समग्र पत्रकारितामाथि गम्भीर प्रश्न उब्जिने गरी अभिव्यक्ति दिएका छन । उनले बेइजिङमै तयार भएको समाचार छाप्नका लागि काठमाडौँका धेरै पत्रकारलाई तलब दिएको उल्लेख गरेका छन । यद्यपी उनले कुन पत्रकार वा सञ्चार माध्यमले कति पैसा लिएर समाचार छापे भन्ने विषयका केही खुलाएका छैनन् ।

राजदूतले कुटनीतिक मर्यादा विपरितको अभिव्यक्ति दिँदा भ्रमपूर्ण समाचारमा तथ्य जाँचको परियोजना चलाउने सेन्टर फर मिडिया रिसर्चले राजदूतको उक्त अभिव्यक्तिमा कुनै जाँच गरेको पाइएको छैन । यद्यपी राजदूतको उक्त अभिव्यक्तिलाई ट्वीट गर्दै इन्टरलिङ्क एकेडेमीले अनुमोदन गरेको छ ।

प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले दैनिकीसँग कुरा गर्दै राजदूत प्रिन्सको उक्त अभिव्यक्ति कुटनीतिक मर्यादा र पत्रकार आचारसंहिता विपरित रहेको बताए । उनले यस बारेमा प्रेस काउन्सिलले थप अध्ययन गरेर आवश्यक निर्णय लिने बताए ।

नेपाल पत्रकार महासंघले अहिलेसम्म यस विषयमा कुनै चासो समेत पक्रट गरेको छैन । उक्त कार्यक्रमका लागि अध्यक्ष विपुल पोखरेलले लिखित सन्देश पठाएर र सचिव पवन आचार्यले स्वयं उपस्थित भएर शुभकामना दिएका थिए तर विवादित अभिव्यक्तिका बारेमा उनीहरूले केही थाहा नभएजस्तो अभिनय गरिरहेका छन । यसले पत्रकार महासंघको निष्पक्षतामा समेत प्रश्न उठाएको छ ।

एक जना पत्रकारको परिचय पत्र छ कि छैन भनेर सोध्दा प्रेस स्वतन्त्र हनन भएको ठहर गर्ने महासंघले काठमाडौँका धेरै पत्रकारले बेइजिङसँग पैसा लिएर समाचार लेखिरहेका छन भन्ने अभिव्यक्तिमा चासो नदिनुले महासंघको नेतृत्वको स्वच्छताका बारेमा शंका उब्जिएको छ । केही महिना अघि नेपालमा मिडिया कानुनको विषयमा छलफल हुँदा अमेरिकी दूतावासका कर्मचारीले महासंघका पदाधिकारीलाई महासंघै भेटेर सरकारले ल्याउने कानुनका बारेमा धेरै नबोल्न चेतावनी दिएका थिए ।

जर्मन राजदूतले उक्त विवादित अभिव्यक्ति दिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त आमसञ्चार तथा पत्रकारिता विषयका  प्राध्यापक पी खरेल, त्रिभुवन विश्वविद्यालयकै आमसञ्चार तथा पत्रकारिता विषयका सहप्राध्यापक डा कुन्दन अर्याल, सोही विषयका उपप्राध्यापकद्धय लेखनाथ पाण्डे, ऋषिकेश दाहाल, इकाजका सम्पादक हरिबहादुर थापा, नेपाल पत्रकार महासंघका एशोसियट सचिव पवन आचार्य र केन्द्रीय सदस्य विकास कार्की लगायतको उपस्थिति रहेको थियो । तस्बीरहरूः इन्टरलिङ्क एकेडेमीको फेसबुक पेजबाट साभार । 

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १८:०२