७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

धादिङ १ मा स्वतन्त्र पार्टीबाट हिमेश पन्तको उम्मेदवारी, एमालेले क्षति व्यहोर्ने अनुमान


१३ असोज, धादिङ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हास्य कलाकार हिमेश पन्तको उम्मेदवारी रहने भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारीको घोषणा गरेका छन ।

राजनीतिक पार्टीका नेताहरूको बारेमा सटायर हान्दै आएका पन्त आफैँ प्रत्यक्ष राजनीतिमा होमिएका छन । राजनीतिक पृष्ठभूमिको परिवारका पन्तको परिवारका सदस्यहरू नेकपा एमालेसँग आवद्ध रहेका थिए । पन्तको उम्मेदवारीले धादिङ १ मा एमालेले केही क्षति व्यहोर्ने अनुमान गरिएको छ । पन्तलाइ कमेडी च्याम्पिय बनाउन एमाले धादिङका नेताहरूले संगठित रूपमा एसएमएस क्याम्पियन चलाएका थिए ।

उनले सामाजिक सञ्जाल मार्फत मंसिर ४ गते हुन गईरहेको संघिय निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मेरो उमेदवारी प्रस्तुत गरेको जानकारी दिएका छन ।

पन्तले उम्मेदवारीको जानकारी दिँदै भनेका छन, ‘यसलाई मैले धादिङको प्रतिनिधित्व गर्दै सामाजिक सेवामा रहने र देशको विकृत राजनीतिक अवस्थालाई परिवर्तन गर्ने अवसरका रुपमा लिएको छु। नीति निर्माणको तहमा युवाको प्रतिनिधित्व आजको आवश्यकता पनि हो। त्यसलाई महसुस गर्दै एउटा युवाले देखाएको साहस र आँटलाई सकारात्मक रुपमा हेरिन्छ भन्ने कुरामा म विश्वस्त छु। तपाईहरुको साथ,सहयोग र हौसलाको अपेक्षा पनि गर्दछु।’

उनले भनेका छन, ‘राजनीतिक र सामाजिक विकृति माथि मैले गर्दै आएको हास्य-व्यङ्ग्य अब त्यसमा मात्र सिमित हुदैन। यस कदम पछि मेरा हरेक कृयाकलापले देश विकास र राजनीतिक परिवर्तनमा अहम भुमिका खेल्नेछ । खराब राजनीति माथिको यो एउटा लडाई हो । हामी यो लडाई कठोर बनेर हैन मुस्कुराएर लड्नेछौ। धन्यवाद !’

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:४९