२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नुवाकोटको ६ स्थानमा प्रहरीको यात्रु सहायता कक्ष


७ असोज, नुवाकोट । नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा अपराधिक घटना बढ्ने, यात्रु ठगिने, नागरिक अलपत्र पर्ने जस्ता गतिविधि हुने गरेको छ । त्यस्ता गतिविधि रोक्न जिल्लाको मुख्य व्यापारिक क्षेत्र बट्टार, ढुङ्गे, तारुकाघाट, ककनी, छहरे र खरानीटारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोेटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।

“चाडपर्वको समयमा सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिने गरेको, सामान हराएको, चोरीजस्ता गुनासो आइरहेको हुन्छ । यस्ता गतिविधिको बारेमा प्रहरीलाई जानकारी गराउँन सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो”, प्रहरी प्रमुख पण्डितले भने, “कुनै आपराधिक क्रियाकलाप, दुर्घटनाजस्ता गतिविधि भएमा यात्रु सहायता कक्षमार्फत तत्काल जानकारी लिएर प्रहरी परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

बट्टारमा स्थापना गरिएको यात्रु सहायता कक्षको स्थापना कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जोखिममुक्त यातायात क्षेत्र बनाउँनको लागि निरन्तररुपमा जिल्ला प्रशासन, प्रहरी, यातायात व्यवसायी, नागरिकलगायतलाई सहभागी गराई छलफल गर्दै आइरहेको बताए । सो अवसरमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसाल पनि उपस्थित रहेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १८:०६