१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पदको लोभमा देशको अस्तित्व मेटाउन तयार प्रचण्ड !


२४ भदौ, काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे आफूहरू सर्वोच्च अदालत जाने बताएका छन । उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्न नचाहेको हो भने राजिनामा दिनुपर्ने पनि बताएका छन ।

शुक्रबार बिहान पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले विधेयक पनि प्रमाणिकरण नगर्ने र राजिनामा पनि नदिने अवस्था रहे आफूहरू सर्वोच्च अदालत जाने संकेत गरे । उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने संकेत पाएको पनि बताए ।

अंगिकृत नागरिकताको प्रावधान विवादित बनेर चौतर्फी रूपमा राष्ट्रपतिले विधेयक संसदमै फर्काउनुपर्ने आवाज उठेपछि राष्ट्रपतिले विज्ञहरूको सल्लाहमा सन्देशसहित विधेयक फर्काएकी थिइन । तर पाँच दलीय गठबन्धनले विधेयकको कुनै पनि प्रावधानमा हेरफेर नगरी संसदको दुबै सदनबाट बहुमतले पारित गरेर पुनः राष्ट्रपतिकोमा पुर्याएको छ ।

संसदले पुनः विधेयक पठाएपछि राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने विषय संविधानको धारा ११३ मा उल्लेख गरिएको भए पनि विधेयक प्रमाणिकरण नगरे के हुने भन्नेबारेमा संविधानमा कुनै कुरा उल्लेख गरिएको छैन ।

प्रचण्डले असार अन्तिम साता प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा अराजु राणा देउवाको सेटिङमा भारतको तीन दिने भ्रमण गरेर नागरिकताको विषयमा सहमति जनाएका थिए । उनले आलोपालो सत्ताको नेतृत्व गर्न पाउने सहमतिमा भारतीय जनता पार्टीका नेताहरूलाई साक्षी राखेर नागरिकता विधेयक अघि बढाउने कसम खाएका थिए ।

नभन्दै प्रचण्ड स्वदेश फर्किए लगत्तै तीन वर्षदेखि संसदीय सहमतिमा छलफल भएर एउटा निष्कर्षमा पुगेको विधेयक रद्दीको टोकरीमा फालेर सरकारले नयाँ नागरिकता विधेयक संसदमा प्रस्तुत गरेर द्रुत गतीमा पास गरेर राष्ट्रपति कार्यालयमा पठायो । सत्ता स्वार्थका लागि जे पनि गर्ने प्रचण्डले भारतको विरूद्धमा कहिल्यै नाजने विषयमा लिखित रूपमै भारतसामू प्रतिवद्धता जनाएको कुरा यसअघि नै सार्वजनिक भैसकेको छ । 

राष्ट्रियसभाले नागरिकता विधेयक केहीदिनका लागि समितिमा पठाउँदा अंगीकृत नागरिकताको विरोध गरेका प्रचण्डले सात वर्षको समय राख्ने प्रस्ताव आफैँले गरेको भन्दै दहिचिउरे कुरा गरेका थिए । उनले आफैँले सात वर्षसम्म विदेशी बुहारीलाई नागरिकता दिनुहुँदैन भनेर प्रस्ताव गरेको बताएका थिए ।

तर फेरि शुक्रबार प्रचण्डले विदेशी बुहारीलाई एक हातले सिन्दुर अर्को हातले नागरिकता दिने प्रावधान कार्यान्वयन गर्न राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरे सर्वोच्च जाने चेतावनीमात्र दिएनन्, राष्ट्रपतिलाइ राजिनामा दिन चुनौति समेत दिए । पद र पैसाका लागि प्रचण्डले जे पनि गर्छन भनेर उनीमाथि लागिरहेको आरोपलाई यो परिघटनाले थप बल दिएको छ ।

अब प्रचण्ड आलोपालोका नाममा आगामी चुनावपछि प्रधानमन्त्री हुन पाएनन् भने पनि एक हातले सिन्दुर र अर्को हातले नागरिकता वितरण गरेर जनसंख्याको बलमा कालान्तरमा नेपालको अस्तित्व मेटाउने योजनाकारको रूपमा इतिहासमा चित्रित हुनेछन । नागरिकता विधेयक प्रमाणिकरणका लागि कांग्रेस र अन्य दलका नेताको खासै चोसो देखिदैन । तर प्रचण्डले हरेक खालका फोरममा यस विषयमा महत्वका साथ बताउँदैआएका छन ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १३:०६