१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

युथ फोर्स अब साइनबोर्डमा हैन मैदानमा देखिनुपर्छः अध्यक्ष ओली (सम्बोधनको पूर्णपाठ)


१४ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब युथफोर्स साइन बोर्डमा मात्र होइन मैदानमै देखिनुपर्ने बताएका छन । भदौ १२ को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले युथ परिचालनमा विशेष जोड दिएका छन ।

अध्यक्ष ओलीले भनेका छन, ‘युथ फोर्स अब मैदानमा देखिनुपर्छ, युथ फोर्स हरेक पालिकामा देखिनु पर्छ, युथ फोर्स हरेक वडामा देखिनुपर्छ र मूल कमिटीमा युथ फोर्स देखिनुपर्छ । युथ फोर्स साइन बोर्डमा देखिएर हुँदैन । हामी युथ फोर्सको रूपमा बेठीक नगर्ने, बेठीक गर्न नदिने, जनताको मतको रक्षा गर्ने, जनताका मतको हरण हुन नदिने, जनताका मत लुटिन नदिने, जनताको मताधिकारको सार्वभौम रक्षा गर्ने ।’

ओलीले बैठकमा गरेको सम्बोधनको पूर्ण पाठ तल हेर्नसक्नुहुन्छ ।

सम्पूर्ण केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य साथीहरू !
संघीय निर्वाचन २०७९, तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९, लाई प्रभावकारी, व्यवस्थित ढङ्गले परिचालन गर्ने उद्देश्यले हामीले ४५१ सदस्य केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको कुरा महासचिव कमरेडले बताइसक्नुभएको छ । यस निर्वाचन परिचालन कमिटीका सम्पूर्ण सदस्य कमरेडहरूलाई हार्दिक स्वागत गर्दछु ।

बैठकमा म फेरि एकपटक स्मरण गराउन चाहन्छु–अहिलेसम्म निर्वाचनको तयारी सम्बन्धमा हालसम्म भएका, गरिएका कामहरूको सम्बन्धमा महासचिवले हामीले के–के काम गरिसकेका छौं भन्ने कुरा राखिसक्नुभएको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीको गठन भएको र त्यो गठन कसरी भयो भन्ने कुरा बताइसक्नुभएको छ । केन्द्रीय कमिटी, केन्द्रीय निकायका प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव रहेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको कुरा महासचिवले राखिसक्नुभयो । त्यसै गरेर चुनावका लागि हाम्रो पार्टी आगामी दिनमा यस देशका लागि, यस देशका जनताको सुरक्षा, हित कसरी गर्न सकिन्छ ?

जनतामा रहेको गरिबी, पछौटेपन र अरु समस्या, अभाव यी सबै कुराहरूबाट देशलाई कसरी मुक्त गर्ने ? देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र राष्ट्रिय हितको गौरव र अभिवृद्धि, सुदृढीकरण र अभिवृद्धि कसरी गर्ने ? यस सम्बन्धमा हामीले प्रणालीगत हिसाबले लोकतान्त्रिक प्रणाली स्थापना गरेका छौं । तर, त्यस लोकतान्त्रिक प्रणालीलाई सञ्चालन गर्न अलोकतान्त्रिक तौरतरिकाहरू अपनाइएको हामी खासगरी अहिलेको स्थितिमा पाइराखेका छौं ।

लोकतन्त्रलाई एउटा जीवन पद्धतिका रूपमा अपनाउनुपर्छ, लोकतन्त्र भनेको एउटा सामाजिक लोकतान्त्रिक पद्धति हो । राज्यको जीवन पद्धति हो । राज्य सञ्चालनको विधि हो । लोकतन्त्र तर्क, तथ्य, सत्य, सही र आवश्यकता अनुसार संविधान र कानून अनुसार चल्ने विधिको शासन, कानूनको शासन हुने राजनीतिक प्रणाली हो । त्यसलाई राज्यको, समाजको, सबैको जीवन पद्धतिका रूपमा, उसको आचरणको रूपमा कसरी लाने ? यो लोकतन्त्रको प्रश्न हो । राज्यको संरचना र अरु पक्षहरू, त्यसको परिचालन कुन अर्थ, मर्म र भाव अनुसार गरिन्छ ? त्यो धेरै महत्वपूर्ण कुरा हो । त्यो लोकतान्त्रिक विधि, पद्धति र तरिकाले सञ्चालित हुनुपर्दछ । राज्यले गर्ने कामहरू, प्रशासनको परिचालन, सञ्चालन, राज्यका अङ्गहरू, राज्यका निकायहरू, राज्यका संयन्त्र, संरचनाहरू र राज्यका विभिन्न पक्षहरूले काम कसरी गर्छन् ? यसैको भेदले मुख्य रूपमा लोकतान्त्रिक प्रणाली र अधिनायकवादी प्रणालीलाई छुट्याउँछ ।

जनताप्रति काम गर्ने, जनताप्रति उत्तरदायी ढङ्गले चल्ने कुरालाई लोकतान्त्रिक प्रणाली भनिन्छ । यही कुरा बिगार्न खोजिएको छ र त्यसलाई सच्याउनु पर्नेछ । व्यक्ति, राज्य, समाजसम्म नेपाली समाजका प्रत्येक क्षेत्रलाई लोकतान्त्रिक विधि, प्रक्रिया अन्तर्गत यस प्रणालीको, यस प्रणालीलाई व्याख्या गर्ने संविधानको र त्यसलाई कार्यान्वयन गर्ने क्षेत्र विशेषका कानूनहरूको कसरी प्रभावकारी निर्माण र कार्यान्वयन गर्ने ? त्यसको परिमार्जन कसरी गर्दै जाने ? यी विषयहरू हुन् । जनताको जीवनस्तरमा साच्चै परिवर्तन कसरी ल्याउने ? शिक्षाका क्षेत्रमा हामी के गर्छौं ? स्वास्थ्यका क्षेत्रमा हामी के गर्छौं ? बेरोजगारीको ठूलो समस्या छ ।

लाखाैँ युवा विदेश पलायन भइराखेका छन् । यस स्थितिलाई परिमार्जन गरेर देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने, उद्यमशीलताको विकास गर्ने धेरै महत्वपूर्ण काम गर्नुपर्ने छ । उद्यमशील चिन्तन, उद्यमशील प्रवृत्ति, उद्यमशील व्यवहार, उद्यमशील आचरण यी कुराहरू हरेक वयस्क र सचेत नागरिकले गर्ने प्रयास गर्नुपर्छ । जसबाट उद्यमशीलतातर्फ देश जान्छ, उद्यमशीलता बढ्छ, प्रविधिको विकास हुन्छ, प्रविधिको प्रयोग हुन्छ । उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ । आत्मनिर्भरता बढ्छ । परनिर्भरता हट्छ । आयात प्रतिस्थापन हुन्छ, निर्यात वृद्धि हुन्छ । वैदेशिक मुद्राको संचिति बढ्छ । राष्ट्रिय बचत वृद्धि हुन्छ । नागरिकहरूको बचतको स्थितिमा उल्लेख्य सुधार आउँछ । यी कामका लागि नेकपा (एमाले) ले नीति निर्माण गर्नुपर्छ, व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।

हामी आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा अब कस्ता नीतिका साथ अगाडि बढ्दै छौं त ? हाम्रो घोषणापत्रले ती कुराहरू बोल्ने छ । त्यो घोषणापत्र हामी अहिले तयार गर्दैछौं । अहिले मैले उठाएका यी कुराहरू घोषणापत्रले भन्छ । हाम्रो चुनावी घोषणापत्र, चुनावी घोषणापत्र मात्रै होइन, देशको भविष्यको राजनीति, अर्थतन्त्र, सामाजिक जनजीवन, संस्कृति र भविष्यमा नेपालको समग्र अन्य पक्ष इको सिस्टम, वातावरण अथवा अरु विविध पक्षहरू, मानवअधिकारका पक्ष, मानवीय सामाजिक जीवनका सद्भाव, सामाजिक सद्भाव, समानतमा आधारित सद्भाव, सामाजिक न्याय र समानतामा आधारित सद्भाव र त्यो सद्भावबाट राष्ट्रिय एकता र एकताबद्ध प्रयासहरू, विकासका प्रयासहरू, राष्ट्रलाई आधुनिक, विकसित, सुविधासम्पन्न र पूर्वाधारयुक्त, विकसित समृद्ध देश र सुखी नेपाली ।

यस गन्तव्यमा कसरी पु¥याउने भन्ने कुरा समाजवादको आधार तयार गर्ने, समाजवादउन्मुख अर्थतन्त्र, सिंगो समाजलाई नै समाजवादउन्मुख बनाउने दिशामा हाम्रो घोषणापत्रले तयारी गर्नेछ । यस सम्बन्धमा हामी घोषणापत्रको तयारी गर्नका लागि समिति पनि बनाइसकेका छौं । त्यस सम्बन्धमा काम प्रारम्भ पनि भएको छ । आगामी दिनमा घोषणापत्रलाई कार्यान्वयन गर्न हामीसँग सरकार चाहिन्छ । सरकार बिना त हामी कार्यान्वयन गर्न सक्दैनौं । अहिले पनि हामीले प्रस्तुत गरेका राम्रा नीतिहरू छन्, तर ती दराजमा थन्किएका छन् र राज्यले भ्रष्ट नीतिहरू, उल्टा नीतिहरू, विकृत नीतिहरू बोकेर, अङ्गालेर ओरालो बाटोमा लागिरहेको छ । यो सरकारको मात्रै अधोगतिको प्रश्न होइन ।

सरकार मात्रै अधोगतिमा गइदिएको भए केही फरक पर्ने थिएन । अर्को सरकार बन्थ्यो । सिङ्गो राज्य संयन्त्र नै अधोगतितर्फ जाँदैछ । राज्य नीति नै अधोगतितर्फ जाँदैछ । बेथितितर्फ, नीतिहीनतातर्फ राज्य जाँदैछ । प्रश्न सरकारको मात्रै होइन, राज्यका सम्पूर्ण अङ्ग, अवयवहरूलाई क्षतविच्छेद, निकम्मा, पङ्गु बनाउन खोजिँदैछ । यसबाट जोगाउनु छ । सिंगो देशलाई, देशको राजनीतिलाई, देशको अर्थतन्त्रलाई ध्वस्त पार्न खोजिँदै छ ।

यसलाई कसरी हामीले रोक्ने ? देशलाई अधोगतितर्फ जानबाट कसरी रोक्ने र कसरी फेरि सकारात्मक बाटोमा फर्काएर उभो लगाउने ? यसको ग्राफलाई हामीले कसरी माथि चढाउने ? यो त सरकार नभई हुँदैन । त्यसकारण यसपल्ट हामीले भन्ने गरेका छौं–नेकपा एमालेले चुनाव जित्नैपर्छ, सरकार बनाउनैपर्छ तर सरकार बनाउन परेको आफ्ना निम्ति होइन, देशका निम्ति हो । एमालेले जित्नुपर्छ, देशको रक्षा र सम्मानको अभिवृद्धिका लागि, हितको अभिवृद्धिका लागि, राष्ट्रियताको सम्वद्र्धनका लागि, स्वाधीनताको सही ढङ्गले प्रयोग गर्नका लागि जित्नुपर्छ । नेकपा (एमाले) ले किन जित्नुपर्छ ? देशले जित्नका लागि जित्नुपर्छ एमालेले । अघि मैले भनेका कामहरूका लागि एमाले चाहिन्छ, एमालेले जित्नुपर्छ ।

हामी राजनीति भनेर जे बुझिराखेका छौं, अहिलेको सरकारले त्यसरी बुझ्दैन । राजनीति भनेको जसरी तसरी सरकारमा पुग्ने र सरकारको, सत्ताको दुरूपयोग गरेर हाटहुट–लाटलुट गर्नुपर्छ भन्ने सरकारको नीति र सरकारको बुझाई छ । अनि त्यो हाटहुट–लाटलुटको कमाईको दुरूपयोग गरेर चुनावमा लाटलुट गर्ने, लाटलुटे सरकार फेरि बनाउने । यही चक्र वर्तमान गठबन्धनले बुझेको छ । यसबाट देशलाई मुक्त गर्न, लोकतन्त्रको रक्षा गर्न हामीलाई सरकार गठन गर्न, बहुमत ल्याउनुपरेको छ ।

अहिले सरकार स–साना कुरामा खुद्रा राजनीति गरेको छ, छलपूर्ण राजनीति गरेको छ । हामीले अगाडि बढाइसकेका कुरालाई अगाडि बढ्न नदिएर रोके । जन्मसिद्धका छोराछोरीले वंशजका आधारमा नागरिकता प्राप्त गर्न सक्छन्/पाउनुपर्छ । त्यस कुराको एमालेले विरोध गरेको छ भनेर भ्रम फिजाउन खोजिराखेका छन् । हामीले चार वर्ष अगाडि हाम्रो सरकार बनेदेखि यही कुरा अगाडि बढाएका हौंं । जन्मसिद्ध नागरिकका छोराछोरीले, जन्मसिद्ध नागरिक त भइसके त, नागरिक भइसकेका छोराछोरीले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ, दुःख पाउनु हुँदैन ।

हामी सरकारमा हुँदा आन्तरिक रूपमा असहयोग गर्ने माओवादी केन्द्रका नेता र अहिले हामी सरकारबाट हटिसकेपछि यति बेलासम्म राजनीतिक खेल खेलेर केही पनि नगरेर अहिले समय छैन भन्ने नाममा समस्याको समाधान नहुनेगरी, अङ्गिकृत नागरिकताको समेत समस्या समाधान नहुनेगरी नागरिकता विधेयक बलजफ्ती पास गर्ने ! संसद जस्तो गरिमामय ठाउँमा छलफलै नगरी पास गर्ने ? संसदका समिति के नाक कानमा लगाउने कुण्डली, झुम्के बुलाकी हुन् ? संसदीय समितिहरू छलफलका लागि बनेका होइनन् ?

कतिपय यस्ता राष्ट्रिय महत्वका विषयहरू जनस्तरमा पनि छलफल हुनुपर्छ । संसदीय समितिहरूले जनस्तरका रायहरू माग्नु पर्दछ । यहाँ त छलफल नै हुन नदिने ! सम्माननीय राष्ट्रपतिज्यूले संसदमा यी–यी विषयमा फेरि एकपटक विचार गरोस् भनेर पठाउँदा बाहिरैबाट अनधिकृत, संविधानले नचिनेका फाल्तु मान्छेहरूले संविधान बमोजिम संसदमा आउन नदिएर, संसदलाई पङ्गु बनाउन खोजे, बाहिरै निर्णय गरेर जस्ताको तस्तै फिर्ता पठाइदिने भन्ने अहङ्कार देखाए, दम्भ, अहङ्कार, घमण्ड यसलाई भनिन्छ । यो अत्यन्तै अशोभनीय दम्भी काम गरेका छन् । भ्रम फिजाउन खोजिराखेको छन् तर म भन्न चाहन्छु–भ्रममा पर्नु पर्ने कुनै आवश्यकता पनि छैन । नेकपा (एमाले) जनताका समस्या समाधान गर्न चाहन्छ, जनताका समस्या समाधान गरी आएको पार्टी हो र नागरिकताको समस्या पनि समाधान गर्न चाहन्छ । हरेक समस्या समाधान गर्न नेकपा (एमाले) चाहन्छ । अनि एमालेका विरुद्ध अहिले पनि भ्रम फिजाउन खोज्ने ?

पहिले पहिले ६० वर्षभन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुदेको जस्तै अहिले फेरि अर्को खालको भ्रम फिजाउन खोज्ने ? सरकारको काम हो– जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देउ । आमा वा बाबुका नाममा नागरिकता छ भने आमा वा बाबुका नाममा नागरिकता देउ, किन अल्झाएर राख्ने ?

संसदीय प्रक्रिया भनेको त संसदीय प्रक्रिया हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक हो भनेर बाहना बनाउने ? यस्ता कपटपूर्ण दुषप्रचारहरू गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नुपर्छ । हामी नागरिकका समस्याको स्थायी समाधान होस् भन्ने चाहन्छौं । जनताको अधिकारको सुनिश्चितता र सुरक्षा होस् भन्ने चाहन्छौं । जनताले दुःख झन्झट नपाउन्, हामी त्यो चाहन्छौं र संसदीय प्रक्रिया पनि पूरा गरिनुपर्छ । संसदीय मर्यादा, संसदको भूमिका, बिना लोकतान्त्रिक प्रणाली कसैले खल्तीबाट केही निकालेर दिन्छु भनेर भ्रम फिजायो भने त्यो दिगो हुँदैन, त्यो झुटो हुन्छ । त्यसकारण हामी यस्तो भ्रमपूर्ण कुरा फिजाउने तत्वहरूबाट सचेत रहनुपर्छ र त्यस्ता भ्रमहरूलाई हामीले धुलो पारिदिनुपर्छ । मैले खाली एउटा मात्रै चर्चा गर्न खोजेको हुँ ।

म यहाँ परिचालन कमिटीको कुरा गर्दै थिएँ । हामीले जुन घोषणापत्र जारी गर्छौं, त्यो कार्यान्वयन गर्न हामीलाई सरकार चाहिन्छ । सरकार बनाउनका लागि हामीले बहुमत ल्याउनु पर्छ । बहुमत ल्याउनका लागि निर्वाचन परिचालन कमिटीले दुईवटा काम गर्नुपर्छ । एउटा काम फेरि पनि बहुमत प्राप्त गर्नका लागि मतदाता नै चाहियो । निर्वाचन परिचालन कमिटीले मत कसरी अभिवृद्धि गर्ने ? मत कसरी सुरक्षित गर्ने ? यसको चाँजोपाँजो मिलाउनुपर्छ । स्थानीय तहमा कमिटीहरू छन् ।

स्थानीय कमिटीहरू छन्, पार्टी कमिटीहरू छन्, जनवर्गीय संगठनका कमिटीहरू छन्, पार्टी कमिटी र जनवर्गीय संगठनहरूसँग मिलेर तिनलाई परिचालन गरेर, तिनीहरूले प्रदेश–प्रदेशमा, जिल्ला–जिल्लामा, पालिका–पालिकामा, वडा–वडामा र टोल–टोलमा निर्वाचन परिचालन कमिटी बनाउनुपर्छ । निर्वाचन परिचालन कमिटी वा बुथ कमिटीहरू यिनीहरूसँग मिलेर तिनीहरूलाई हामीले परिचालन गर्ने हो । यहाँ कसको अधिकार क्षेत्र भनेर अधिकार क्षेत्रको विवादमा हामी फस्दैनौं । अधिकार क्षेत्रको विवाद भन्दा माथि उठेर हामी पार्टीका कमिटीहरू, जनवर्गीय संगठनका कमिटीहरू, विभिन्न तहका कमिटीहरू छन्, विभिन्न तहका परिचालन कमिटीसँग मिलेर काम गर्छौं ।

एक ढङ्गले केन्द्रीय परिचालन कमिटीका मातहतमा नै हुन् ती कमिटीहरू तर हामी ठाडो नेतृत्व कमिटी भनेर जिल्लाका परिचालन कमिटी, पालिकाका परिचालन कमिटी यहाँबाट नियन्त्रण गर्न खोज्दैनौं । ती त्यहीँबाट सञ्चालन हुन्छन् । त्यहाँका कमिटीहरूले सञ्चालन गर्छन् । हामी त्यसमा केन्द्रदेखिका हाम्रा सोचहरू, हाम्रा योजनाहरू, हाम्रा तरिकाहरू हामी त्यहाँ लगेर प्रस्तुत गर्छौं र त्यसबाट निर्देशित गर्छौं । निर्भूल ढङ्गले सक्रियतापूर्वक सम्पूर्ण पार्टी परिचालित होस् ।

सम्पूर्ण पार्टी भनेको पार्टी कमिटी मात्रै होइन, जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरू, असंगठित व्यक्तिहरू, समस्त शुभेच्छुकहरू, बुद्धिजीवीहरू, सञ्चारकर्मीहरू, जो देशलाई माया गर्ने छन्, जो लोकतन्त्रप्रति विश्वास गर्नेहरू छन्, जो समाज न्यायोचित ढङ्गले अगाडि बढ्नुपर्छ, सामाजिक न्याय र समानता हुनुपर्छ भन्ने कुरा ठान्छन्, जसले देशलाई सुशासन र विकासको बाटोमा अगाडि लान खोज्छन् त्यस्ता व्यक्तिहरू समेत सम्पूर्णलाई हामीले परिचालित गर्नुपर्छ/परिचालन गर्दै अगाडि जानुपर्दछ ।

आज देश यस्तो विन्दुमा पुगेको छ, यो प्रश्न आज विचारको भिन्नताको प्रश्न मात्रै होइन । यो प्रश्न राष्ट्र, राष्ट्रिय हितको, राष्ट्र निर्माणको, यो पक्षको विचार र त्यो पक्षको विचार भन्दा पनि राष्ट्रिय विचारको कुरा हो । यो निर्वाचन व्यापक राष्ट्रिय हितको विचार कि दलीय, व्यक्तिगत स्वार्थ गुटगतको विचार ? नेकपा (एमाले) व्यापक राष्ट्रिय हितको विचारको, समग्र विचारको प्रतिनिधित्व गर्दछ । समग्र राष्ट्रिय हितको विचार अथवा राष्ट्रिय विचार अथवा एमालेले लिने विचार भनेको नेपाली विचार हो ।

नेपालको प्रशासन परिचालन, सरकार सञ्चालन अथवा विदेश नीति सञ्चालन अथवा अर्थ नीति सञ्चालन, कृषि, उद्योग, व्यापार, पर्यटन अथवा सेवाका क्षेत्रहरूमा हामी के गर्छौं ? यी सबैको सही विचारहरूको समष्टि चाहिँ एमालेले लिएका विचारहरूको समष्टि हुन् । एमालेका विचार भन्नाले राष्ट्रिय विचार हुन्, राष्ट्रिय हितका विचार हुन् । नेपालको, नेपाली जनताको साझा आकाङ्क्षाको विचार हुन् । आकाङ्क्षाको प्रतिनिधित्व गर्ने प्रतिबिम्व विचार हुन् । त्यो विचार एमालेको छ । त्यसकारण यहाँ तथाकथित विचारको कुरा, विचारको वा दलीय संलग्नताको जस्तो कुराको सीमाभित्र अहिलेको चुनाव रहन सक्ने अवस्था छैन । त्यो सीमाभित्र रह्यो भने संसदमा अहिले टाउको गनेको जस्तै निरर्थक विपरीत परिणाम निस्कने खालका, देशहीत विपरीतका नतिजाहरू आउँछन् ।

आज राष्ट्रियतालाई सङ्कटमा पार्न खोजिएको छ । लोकतन्त्रलाई सङ्कटमा पार्न खोजिएको छ । सुशासन र विकासको अभियानलाई अवरोध गरिएको छ । उल्टोतिर फर्काउन खोजिएको छ/फर्काइँदैछ । जनतालाई राहत सहुलियत होइन, पीडा दिने । एउटा विचारको मात्रै धार भन्ने कुराको अर्थ होइन, राष्ट्रिय विचारको धार, आज राष्ट्रको बारेमा सोच्नुपर्ने कुरा छ र यो सोचाइको नेतृत्व एमालेले गरिराखेको छ । यसकारण एमालेको सरकार चाहियो ।

यसकारण आगामी निर्वाचनमा हामीले बहुमत ल्याउनु पर्छ । यसर्थ म कमरेडहरूलाई भन्न चाहन्छु, हामीले निर्वाचनमा कहीँ कतै कमी नरहोस् । निर्वाचनको तयारी, निर्वाचनको व्यवस्थापन, निर्वाचनको प्रचार कार्य, निर्वाचनसम्बन्धी अन्य चाँजोपाँजोहरू केही कुरामा कतै कमी नहोस् भन्नका लागि हाम्रो परिचालन कमिटीले ध्यान दिनुपर्छ । हाम्रो परिचालन भनेको प्रचार मात्रै हो भन्ने हुँदैन ।

प्रचारभन्दा व्यापक समग्र निर्वाचन परिचालन तर म फेरि यहाँ दोर्याएर कमरेडहरूको ध्यानाकर्षण गर्न चाहन्छु,–सम्बन्धित तहका कमिटीहरूसँग जनवर्गीय, पेशागत कमिटीहरूसँग विवाद हुने काम हामीले गर्नु हुँदैन । त्यहाँ अन्तरविरोध सिर्जना गर्ने काम गर्नु हुँदैन । हामीले सहयोगी भूमिका खेल्नुपर्छ । माथि केन्द्रका नीतिहरू तलसम्म पुर्याउने, तलका समस्या माथिसम्म ल्याउने पुलको पनि काम गर्नुपर्छ । समग्र पक्षमा स्थानीय तहका कमिटीहरूको ध्यान गएको छ कि छैन ? त्यो कुराहरू हेर्नुपर्छ ।

हामीले घोषणापत्र मस्यौदा कमिटी बनाइसकेका छौं । घोषणा पत्रका लागि हामीले सुझावहरू मागिसकेका छौं, आउने क्रम जारी छ । उम्मेदवारको सिफारिस, मापदण्ड अघि शंकर कमरेडले बताइसक्नुभएको छ । निर्वाचनका लागि हरेक पटक पार्टी दर्ता गर्नुपर्छ, त्यो कार्य पनि हामीले सम्पन्न गरिसकेका छौं ।

मूल कमिटी गठनको यसपटक नयाँ प्रस्ताव आएको छ, निर्वाचन प्रयोजनका लागि जनसंगठनका युवा प्रतिनिधि, जुनसुकै जनसंगठन पनि र मूलरूपमा युवापंक्ति आफूलाई युवा ठान्ने ६० वर्षसम्मका मान्छे पनि बस्न सक्छन् तर मूलतः युवा प्रतिनिधिहरू यसमा स्वाभाविक रूपमा युवासंघ अग्रसर हुनै पर्यो, युवा संघ अगाडि बढ्नै पर्यो ।

युथ फोर्स अब मैदानमा देखिनुपर्छ, युथ फोर्स हरेक पालिकामा देखिनु पर्छ, युथ फोर्स हरेक वडामा देखिनुपर्छ र मूल कमिटीमा युथ फोर्स देखिनुपर्छ । युथ फोर्स साइन बोर्डमा देखिएर हुँदैन । हामी युथ फोर्सको रूपमा बेठीक नगर्ने, बेठीक गर्न नदिने, जनताको मतको रक्षा गर्ने, जनताका मतको हरण हुन नदिने, जनताका मत लुटिन नदिने, जनताको मताधिकारको सार्वभौम रक्षा गर्ने ।

नेकपा (एमाले) वात बहादुर पार्टी हुने होइन, वात बहादुर पार्टी होइन, काम बहादुर पार्टी हुनुपर्छ । कुरा गर्ने बेलामा ठूलाठूला गर्ने, काम गर्ने बेलामा छैन । त्यस्तोलाई वात बहादुर भन्छन् । कुरा बहादुर, वात बहादुर पार्टी होइन । यो पार्टी कर्म बहादुर, काम बहादुर हो । हाम्रा संगठनहरू त्यस ढङ्गले, हाम्रा सम्पूर्ण युवा पङ्क्ति, युवा संघ, खेलाडी अरू संगठनहरू जुन हामीले यहाँ भन्यौं, ती सबै संगठनहरू ।

युवा संघ, खेलकुद महासंघ, जिफन्ट, अनेमसंघ, अनेरास्ववियू, राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संघ आदिलाई निर्वाचन परिचालन कमिटीको सचिवालयमा किन राखिएको छ भन्दा यी संगठनहरू त्यस ढङ्गले तल बुथमा यिनका प्रतिनिधिहरूले काम गर्छन्, यहाँ केन्द्रीय कार्यालयमा दूरबिन हातमा हुनुपर्छ । कहाँनिर के भइराखेको छ, हेर्न पर्यो । प्रशासनिक गतिविधि, प्रहरीका गतिविधि सबैको लेखाजोखा राख्नुपर्छ, हेक्का राख्नुपर्छ कहाँ के भइराखेको छ । त्यसको तत्काल हामीले सही उपचार पनि खोज्नुपर्छ ।

निर्वाचनका सन्दर्भमा कति काम भइसके, अब गर्ने कामका सन्दर्भमा हामीले चर्चा गरिसक्यौं । प्रदेशका आफ्ना काम छन् । यहाँ केन्द्रमा जसरी परिचालन कमिटी बनाइएको छ, त्यसैगरी ठूला कमिटी बन्छन् भने पनि सचिवालय सानो र सचिवालयले पनि अझ कार्यालयजस्तो केही सचिवालयका कमरेडहरू आमरूपमा दैनिक हाजिरीमा हुनुपर्छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयको सचिवको सम्पर्कमा जानकारीमा हुनुपर्छ । यतिबेला कमसेकम कुन सदस्य कहाँ के गरिराखेको छ भन्ने कुरा सचिवालयलाई थाहा हुनुपर्छ र त्यसको सचिवलाई थाहा हुनुपर्दछ । कमिटीमा बसियो, कमिटीमा बसेपछि केही भएन भन्ने होइन, अहिले बृहत परिचालन कमिटी जुन छ, यसले मार्गदर्शन लिएर, हाम्रा निर्णयहरू बोकेर यो छरिन्छ र सम्भवतः चुनाव जिताएपछि हामी यहाँ आउँछौं र समीक्षा गर्छौं । चुनाव जिताएपछि यस निर्वाचन परिचालन कमिटीलाई हामी विधिवत विघटन गर्छौं ।

हाम्रो सचिवालय सक्रिय हुनुपर्दछ । दैनिक अफिसमा हुनुपर्दछ । अफिसमा छैन भने कहाँ गएको छ, किन गएको छ भन्ने कुरा, के गर्दैछ भन्ने कुरा थाहा हुनुपर्छ । आज सचिवालय गठन गरेका छौं । यसभित्र पनि अझ खास सचिवालयको रूपमा बस्ने, निर्वाचन जति नजिकिँदै जान्छ, त्यति सघन ढङ्गले बस्नुपर्छ, रातदिन बस्नुपर्ने हुनसक्छ । त्यस ढङ्गले बस्नेगरी साथीहरूले मानसिकता बनाउने र सक्रिय रहने काम गर्ने ।

आजको बैठकको उपादेयताका निम्ति केन्द्रीय कमिटीको चौथो बैठकले गरेका निर्णयहरूलाई नै झण्डा बनाएर जानेछौं । हिजो केन्द्रीय कमिटीको बैठकले जुन निर्णयहरू गर्यो, तिनै निर्णयहरूलाई झण्डा बनाएर जाँदैछौं । एमालेको बहुमतको सरकार देशलाई आवश्यक छ । त्यसकारण आगामी सरकार एमालेको भन्ने नारा लिएर हामी अगाडि बढ्छौं । कमरेडहरूलाई थाहा छ, त्यस प्रयोजनका लागि निर्वाचनलाई सही ढङ्गले हाक्न निर्वाचन परिचालन कमिटीले एउटा सचिवालय गठन गर्यो । यो सचिवालय गठनको प्रस्तावलाई तारिफ गर्दिन म आग्रह गर्छु । यो केन्द्रीय परिचालन कमिटीको सचिव र सचिवालयको पनि सचिव हुनेगरी उपमहासचिव विष्णु रिमाललाई तोक्न पनि म आग्रह गर्दछु ।

अघि मैले भनेका कुराहरू हामी व्यवस्थित ढङ्गले लिखित रूपमा फेरि तल पठाउने छौं । प्रदेश तहमा छरितो परिचालन कमिटी, कति बनाउने, कति छरितो बनाउने भन्ने त्यस सम्बन्धमा हामी लेखेर पछि पठाउँछौं । कार्यक्रमको संयोजन विभिन्न तहमा कसरी गर्ने भन्ने कुराहरू, जिल्ला तहको परिचालनले के गर्ने, कसरी काम गर्ने आदि कुराहरू हामी पछि पठाउँछौं । वडा तहसम्म परिचालन कमिटी निर्माण गरिनेछ ।

प्रदेशमा, जिल्लामा, पालिकामा र वडामा परिचालन कमिटी निर्माण गरिने छन् । बुथस्थलमा निर्वाचन प्रयोजनका लागि बुथ कमिटीहरू गठन गरिने छ । हरेक पार्टी सदस्यले पुराना होइन, नयाँ पहिले मतदाता नभएका कमसेकम दुईजना मतदाता थप्नै पर्ने, दुईजना थपेपछि पुग्यो भनेर बस्ने होइन, दुईसय, दुईहजार, दुई लाख जति थप्न पनि पाइन्छ । दुई जना भन्दा कम चाहिँ हुन हुँदैन ।

मत सुरक्षाका लागि ध्यान दिने भन्ने कुरा आइसकेको छ । विभिन्न उपसमितिहरू बनाइने कुरा सचिवालयले गर्नेछ । सचिवालयको बैठक तुरुन्त बस्नेछौं र त्यसले उपसमितिहरू निर्माण गर्नेछ । जसले निर्वाचन परिचालन सम्बन्धमा प्रचार प्रसार, स्रोत परिचालन, कानूनी परामर्श तथा समन्वय आदि गर्नेछ । यी उपसमितिहरू बन्ने छन् । सचिवालयले बनाउने छ । प्रशिक्षण सामग्रीको तयारी गरिनेछ र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

हामीले अहिलेको परिस्थिति, वैचारिक पक्षहरू, यसका औचित्य, यसका आवश्यकतादेखि गर्नुपर्ने कामहरूको सम्बन्धमा पनि चर्चा गरिहाल्यौं । चुनावको बेला छ, बैठक लामा नगर्ने, काम कस्सिएर गर्ने । त्यस काममा हामी लाग्छौं ।

म सबै कमरेडहरूलाई त्यही आत्मविश्वासका साथ काममा लाग्न र पार्टीलाई विजयी बनाउने संकल्प र दृढ आत्मविश्वास बोकेर अगाडि बढ्न आह्वान गर्दै तपाईंहरूको सुस्वास्थ्य, समृद्धि होस् भन्ने शुभकामनाका साथ बैठक यही अन्त्य गर्दछु । धन्यवाद ।

(अध्यक्ष ओलीले २०७९ भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई गरेको सम्बोधन)

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार २२:३६