१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सामान्य बिरामी हुँदा पढाइ अचेल पहिला जस्तो छुट्दैन…


-देवराज सुवेदी

१० भदाै, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा रहेको थाङपालभ्याली माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सविना सुनुवारको पढाइ अचेल पहिला जस्तो छुट्दैन । महिनावारी भएको समय तल्लो पेट दुखेर उहाँ कति पटक कक्षा छाडेर घर फर्किनुभयो । तर अहिले विद्यालयमा नै नर्सको व्यवस्था भएपछि उहाँले कुनै कक्षा छाड्न नपरेको बताउनुहुन्छ ।

विद्यालयमा कुनै विद्यार्थीलाई पढाइ भइरहेकै बेलामा सामान्य चोटपटक लाग्यो, टाउको वा पेट दुख्यो भने पढाइ नै छोडेर घर जानुपर्ने बाध्यता अभैm पनि अधिकांश विद्यालयमा कायम छ । यो समस्या धेरै ठाउँका विद्यार्थीले भोग्दै आइरहेका पनि छन् । तर बागमती प्रदेश सरकारले विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरेपछि सिन्धुपाल्चोकका दुर्गम ठाउँका विद्यार्थीलाई भने पढ्दापढ्दै बीचमा नै घर जानुपर्ने बाध्यता हटेको छ ।

कोही बिरामी भए आराम कक्षको सुविधा छ । महिनावारी भईहालेमा विद्यालयमै सेनेटरी प्याड उपलब्ध छ । बिरामी भएमा दुखाइबारे सोधेर नर्सले औषधि दिनुहुन्छ । कसैलाई चोटपटक लागे विद्यालयमा नै प्राथमिक उपचारको सुविधा छ । सम्बन्धित व्यक्तिबाटै स्वास्थ्य र सरसफाइबारे जानकारी पाउन थालेपछि विद्यार्थी पनि सचेत बन्न थालेको विद्यालय नर्स अस्मिता केसी बताउनुहुन्छ ।

शिक्षकसँग आफ्नो समस्या राख्न हिच्किचाउने विद्यार्थी अहिले नर्ससँग समस्याबारे खुलेर समस्या राख्न सक्ने भएका छन् । विद्यार्थीको उपचार मात्र हैन फोहर व्यवस्थापन, वातावरणीय सरसफाइ, पोषण, व्यक्तिगत सरसफाइलगायत पनि सुधार भएको छ । विद्यालय नर्स कार्यक्रमले विशेष गरी किशोरीलाई सहज भएको अर्का विद्यार्थी वर्षा धिताल बताउनुहुन्छ ।

पाँचपोखरी थाङपाल गाँउपालिकाले सहज रुपमा प्राप्त हुने गरी सेनेटरी प्याड उपलब्ध गराइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । हरेक विद्यालय तथा स्वास्थ्य चौकीमा आवश्यक प्याड उपलब्ध हुने उहाँले बताउनुभयो ।

जिल्लामा हालसम्म ४६ माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा छ । रासस

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार ०९:५९