१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नुवाकोट १ मा प्रकाशशरण महतलाई प्रचण्डको पनि ग्रिन सिंग्नल, के गर्लान हितबहादुर ?


२ भदौ, नुवाकोट । पाँच दलीय सत्ता गठबन्धनमा एकै परिवारको जस्तो भएर बसेका शीर्ष नेताहरूले एक अर्कालाई चुनाव सुरक्षित गर्नेगरी भागवण्डाको विषय अघि बढाएका छन । निकै पेचिलो हुने अनुमान गरिएको नुवाकोट १ को भागवण्डा पनि विस्तारै सहज हुने बाटोमा अघि बढेको पाइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई साक्षी राखेर प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतलाई नुवाकोट १ को साझा उम्मेदवार बनाउने कुरामा सहमति जनाएका छन । कांग्रेस स्रोतले बताए अनुसार देउवाले आफूले महामन्त्री बनाउन चाहे पनि टिमभित्रकै साथीहरूको अन्तर्घातले बनाउन नसकेको र एक पटक प्रत्यक्ष चुनाव जिताएर उत्ताराधिकारी बनाउन चाहेको बताएका छन ।

देउवाको उक्ता कुरामा प्रचण्डले आफूले सहयोग गर्ने आश्वासन दिएका छन । सोही अनुसार कांग्रेसले नुवाकोटको दुबै संघीय निर्वाचन क्षेत्र मागेको छ । भागवण्डा समितिमा कुरा हुँदा कांग्रेसले नुवाकोटको दुबै क्षेत्रमा दाबी प्रस्तुत गर्ने छ ।

दुई संघीय निर्वाचन क्षेत्र र एक प्रदेशसभा निर्वाचन क्षेत्र माओवादीलाई दिएर समग्रमा ५०र५० प्रतिशतको भागवण्डा गर्ने प्रस्ताव कांग्रेसमा तयार भएको । कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा महत, त्यसको प्रदेश खमा महतका भतिजा नुवाकोट कांग्रेसका सभापति रमेश महत र प्रतिनिधिसभा क्षेत्र नम्ब २ मा बहादुरसिंह लामालाई उम्मेदवार बनाउने तयारी गरेको छ।

यद्यपी सिट भागवण्डा र टिकट वितरण दुबैमा मुख्य भूमिकामा अर्जुननरसिंह केसीका ज्वाइँ कांग्रेस महामन्त्री गगनकुमार थापा रहने भएकाले एक सिट केसीहरूलागि दिने सम्भावना रहेको छ । त्यसमा केसीका भाइद्धय केदारनरसिंह केसी र जगदिश्वरनरसिंह केसी मध्ये एकले कुनै एक प्रदेशमा टिकट पाउने कांग्रेस स्रोतले बतायो ।

अर्जुननरसिंह केसी स्वयंले अब चुनाव लड्न आउँदिन मेरो अन्तमि पटक हो भनेर अघिल्लो निर्वाचनमा मत मागेका कारण उनी नैतिक रूपमा कमजोर देखिएका छन । यद्पी राजनीतिमा नैतिकताको हिसाबकिताब धेरै नहुने भएकाले केसीले पुनः चुनाव लड्दैनन् भन्न सकिन्न ।

हितबहादुरले के गर्लान ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय राजनीतिमा खासै प्रभाव नराखे पनि नुवाकोटको राजनीतिमा भने हितबहादुर तामाङको सिन्डिकेट नै छ । नुवाकोटको माओवादीको संगठनदेखि नेता र कार्यकर्ताको व्यवस्थापनमा हितबहादुरको प्रमुख भूमिका रहँदै आएको छ । उनी माओवादीभित्रका सफल व्यक्ति समेत हुन ।

हितबहादुर माथि जातियताको रंगमा राजनीति गर्न खोजेको भनेर लाग्ने आरोपबाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन । स्थानीय विकासका लागि हितबहादुरको दौडधुप जनताको नजरमा पनि परेको छ । नुवाकोट १ जनताले डा रामशरण महतको विकल्पको रूपमा हितबहादुरलाई त्यसै रोजेको होइनन त्यसका पनि थुप्रै कारणहरू रहेका छन ।

पछिल्लो पटक अर्थात वैशाख ३० मा भएको स्थानीय निर्वाचनपछि नुवाकोटमा माओवादीले आफ्नो संगठनमा आमूल परिवर्तन गरेको कुरा नतिजाबाटै देखाएको छ । लामो समयदेखि कांग्रेससँग लडिरहेका तामाङ यसपटक आफैँले सुधार गरेको संगठनमा कांग्रेसका लागि भोट माग्न अभिशप्त हुने खतरा देखिन्छ ।

हितबहादुरलाई संघीय मन्त्रीको आश देखाएर समानुपातिकमा राजी गराउने प्रयासहरू पनि हुने नेताहरू बताउँछन । नुवाकोटमा चुनावी गठबन्धन के हुने भन्ने करा कांग्रेसहरूको विवाद भन्दा पनि हितबहादुरको निर्णयमा निर्भर गर्ने माओवादीका नेताहरूले बताएका छन । विगतमा हितबहादुरको विरूद्धमा माओवादीभित्रै अभियान चलाएका केही नेताले त लेख नै लेखेर हितबहादुरका लागि चुनावी अपिल समेत गरिसकेका छन ।

प्रचण्ड र शारदा अधिकारीको भूमिका 

प्रचण्ड र उनका घरबेटी विवादित ठेकेदार शारदा अधिकारीको भूमिकाले पनि केही असर गर्ने देखिन्छ । हितबहादुरले पाँच वर्षदेखि पटक पटक शारदा अधिकारीलाई कारबाही नै गरेर भए पनि पासाङल्हामु राजमार्ग बनाउने अभियानमा लागे पटक पटक कराए चिच्याए तर उनको कुरा कसैले सुनेन् ।

नुवाकोटको ककनीमा पोष्टबहादुर कृषि प्रदर्शनीमा प्रचण्ड आउँदा सार्वजनिक रूपमै शारदालाई कारबाही गर्न माग गरे । पछिल्लो पटक पोष्टबहादुर स्मृति प्रतिष्ठानको कार्यक्रममा पनि उनले सडक र शारदाको कुरा उठाए । तर प्रचण्डको प्रवृतिलाई छोटो समयमा नजिकबाट चिनेका प्रकाशरणले चाकरी सुरू गरे ।

कतिसम्म भने बाटोका कारण हजारौँ जनता दिनहुँ दुःख पाइरहेको समयमा डा महतले नेतृत्व नै गरेर एक हुल युवा लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै अधिकारीको ठेक्का नतोडी काममा लगाउन ध्यानाकर्षण पत्र बुझाइयो ।

प्रचण्डले केही अस्थिर खालका अभिव्यक्ति दिएपछि त्यसको काउन्टरमा कांग्रेसका कार्यकर्ताले अभिव्यक्ति दिँदैगर्दा चितवन पुगेका महतले प्रचण्डको अभिव्यक्तिलाई प्रतिवादन नगर्न भन्दै अपिल नै गरे । यसरी प्रकाशशरण विस्तरै प्रचण्ड र शारदा अधिकारीको समेत प्यारो बनिसकेका छन ।

शारदा पनि निकै शक्तिशाली मानिन्छ उनले पछिल्लो चरणमा तीन पटक प्रचण्ड र कामु प्रधानन्यायाधीश दीपक कार्कीको गोप्य भेट गराएको समाचारहरू समेत सार्वजनिक भैसकेको छ । राजनीतिक सेटिङमा ठेक्का हत्याउने आदत परेका उनले टिकट वितरणमा केही न केही भूमिका खेल्ने बुझिएको छ । र नुवाकोट १ को सावलामा उनीहरको रोजाइमा प्रकाशशरण परिसकेका छन । किनकी महतले उनीहरूको पक्षमा आफूलाई प्रस्तुत गरिसकेका छन ।

भाइ महत हैन दाइ महतकै खोजी

प्रकशरण महतले काठमाडाैँ ५ छाडेर नुवाकोटमा चुनाव लड्ने भन्दै दाैडधुप तीब्र पारेसँगै कांग्रेसकै कतिपय कार्यकर्ताले डा रामशरण महत नै चाहिने बताउन थालेका छन । उनीहरूले सामाजिक सञ्जाल मार्फत अभियान नै चलाउन थालेका छन । स्वास्थ्यअवस्था र बुढ्याैली दुबैका कारण रामशरणले नै भाइका लागि ठाउँ खाली गर्न चाहेका हुन ।

सोही अनुसार प्रकाशरणले आफ्नो पाइला अघि बढाएका हुन । दाजुभाइ भए पनि पार्टीको दुइ फरक गुटमा क्रियाशिल रहेका कारण उनीहरूको तल्लो कमिटीसम्म आफ्नै गुटहरू रहेका छन र ती सबै क्रियाशिल नै रहेका छन । दाइको गुटका भतिज रमेश महतलालाइ जिल्ला सभापति बनाउन यस पटक भाइ महतले पनि सहयोग गरेका थिए ।

केदारनरसिंह केसीको रहर 

केसीले गत जेठ २७ गते सामाजिक सञ्जाल मार्फत अाफ्नो धारणा राख्दै नुवाकोट १ बाट चुनाव लड्न चाहेको बताए । उनले २०४८ सालपछिका कुनै पनि निर्वाचनमा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी अघि बढ्न नपाएको भन्दै नेता केसीले क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहेको बताएका हुन ।

कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेको प्रचार भएको तेस्रो दिननै केसीले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी प्रस्तुत गरेका थिए । यद्यपी उनले आफ्नो परिवारमा सल्लाह गरेर नै निर्णय लिने बताएका थिए ।

केसीका चार दाजुभाइ कांग्रेसकै प्रत्यक्ष राजनीतिमा रहेका छन । जेठो अर्जुननरसिंह केसी, स्वयं केदार, जगदिश्वरनरसिंह र धनन्जयनरसिंह कांग्रेसको पूर्णकालीन राजीतिमा रहेका छन । चिकित्सकको रूपमा सामाजिक छवि समेत बनाएका केसीले क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने तयारी गरेपछि डा प्रकाशरण महतलाइ त्यसले पनि समस्या पर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १०:३७