१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

राजेन्द्रले हल्लाएका चन्द्र ! दिउँसभर एमालेको भेलामा रातपरेपछि माओवादीको सभामा


२८ साउन, काठमाडौँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र सापकोटासँगै संगठनका पूर्व अध्यक्ष समेत रहेका नेकपा (एमाले)को विशेष प्रदेश कमिटीका उपसचिव एवं टानका पूर्व अध्यक्ष चन्द्र रिजाल पनि माओवादीको कित्तामा उभिन पुगेका छन ।

माओवादी निटकटको कमल सापकोटाको समूहको कार्यक्रममा सम्बोधन गर्दै पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका एमालेको विशेष प्रदेशका उपसचिव चन्द्र रिजाल ।

टानको चुनावको सन्दर्भमा माओवादी निटकटको समूहले शनिबार नयाँबजारको सासा ब्यंकेटमा गरेको रात्रीभोजमा पुगेर रिजालले टानको नेतृत्वमा कमल सापकोटाको समूहका लागि शुभकामना दिए । रिजालले त्यसअघि शनिबार बिहानैदेखि एमाले निकटको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका नेताहरूसँग छलफल गरेर पार्टी र संगठनको निर्णय कार्यान्वयन गर्नुपर्ने  र टानको अध्यक्षमा निलहरि बाँस्तोलासहितको टिमलाई जिताउनुपर्ने भन्दै ठमेलको होटल वैशालीमा विशेष बैठक समेत गरेका थिए ।

तर शनिबार नै रातपरेपछि रिजालले फेरि माओवादीको कार्यक्रम पुगेर मञ्चमै लामो समय बसेर सापकोटाको समूहका लागि जितको शुभकामना दिन भ्याए । तीनै रिजाल त्यहाँ शुभकामना दिएपछि एमाले समेतका समर्थनका उम्मेदवारहरूसँगको नयाँबजार मल्टीभेन्युमा भएको रात्रीभोजमा पुगेर निलहरि बाँस्तोलाको समूहलाई जिताउन भोट मागे । उनले त्यहाँ संगठनहरूको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

ठमेलको होटल वैशालीमा शनिबार बिहान एमाले समर्थित निलहरि बाँस्तोला समूहका नेताहरूसँग छलफल गर्दै पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका एमालेको विशेष प्रदेशका उपसचिव चन्द्र रिजाल ।

एमालेको प्रदेश कमिटीको पदाधिकारी भैसकेका रिजालले संगठनको निर्णयविपरितको गतिबिधिमा देखाएको सहभागिता र गरेको सहयोगको विषयलाई लिएर संगठनका नेताहरू भने समिक्षामा बसेका छन । एमाले निकटका व्यवसायी नै तीनछक पर्ने रिजालको व्यवहारले भोलिको दिनमा के नतिजा निकाल्ला भन्दा पनि एमालेभित्रको संगठनात्मक अराजकतालाई भने बल पुर्याएको छ । संगठनका एक पदाधिकारीले दैनिकीसँग भने, ‘आफैँले नेतृत्वले गरेको संगठनले गरेको निर्णयको विरूद्धमा उभिएर भाषण गर्दा पनि रिजालमा अलिकति पनि हिनताबोध नदेखिनु झन गम्भीर विषय छ ।’

ती पदाधिकारीले अघि भने, ‘एमाले समर्थित बास्तोलाको प्यानलनै विजयी हुनेभएपछि शनिबार बिहानबाट मात्र रिजाल संगठनको पक्षमा खुलेका थिए तर रातपरेपछि फेरि माओवादीको भेलामा पुगेपछि धेरैले रिजालको राजनीतिमै शंकाको दृष्टिकोणले हेरेका छन ।’ टानको यो चुनावमा चन्द्रले एक ठाउँमा उभिएर खुट्टा टेक्न नसक्नुको कारण राजेन्द्रनै रहेको जानकारहरू बताउँछन ।

निलहरि बाँस्तोलालाइ विजयको शुभकामना दिँदै चन्द्र रिजाल ।

राजेन्द्रका कारण समस्यामा चन्द्र

राजेन्द्र र चन्द्र व्यवसायिक साझेदार समेत हुन । उनीहरू लामो समय पर्यटनको राजनीतिमा एकअर्कामा नङ र मासुको जस्तै सम्बन्धमा रहेका छन । राजेन्द्रलाई पर्यटनको नेता बनाउन महत्वपूर्ण भूमिका खेलेका रिजाललाई चुनौति दिँदै कुनै समय सापकोटाले संगठन नै विभाजन पनि गराएका थिए । तर पछि उनीहरू केही समयमै एकै ठाउँमा उभिने अवस्थामा पुगे ।

पछिल्लो समय सत्ताको नजिक भएर पर्यटनको गतिबिधिमा प्रभाव राख्दै आएका उनीहरू एकअर्काको व्यवहारका कारण छुट्टिन नसक्ने अवस्थामा पुगेको पर्यटनका नेताहरू बताउँछन । कहिल्यै संगठनको हितमा नदेखिएका सीताराम सापकोटा र राजेन्द्र सापकोटाको पछि चन्द्र रिजाल हिडेँपछि राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा भने सन्नाटा छाएको छ । सापकोटाद्धयसँगै रिजाल पनि माओवादीकै कित्तामा उभिन पुग्नु गम्भीर राजनीतिक विचलन भएको व्यवसयाीहरू बताउँछन । केही साताअघिमात्र सम्पन्न एनएमएको चुनवमा पनि उनीहरूको भूमिका विवादित बनेको थियो ।

दैनिकीको सम्पर्कमा रहेका संगठनका ती पदाधिकारी भन्छन, ‘एमाले र माओवादी एकता भएर बनेको पार्टी नेकपाको उद्योग व्यवसायी जिल्ला कमिटीमा कमल सापकोटाको सचिव अस्वीकार गरेको भनेर हल्ला पिटाएका रिजाल अहिले तीनै कमलको भारी बोक्न किन तयार भए ? यो प्रश्नको जवाफ हामीले पनि पाउन सकेका छैनाैँ ।’

कारबाहीमा परे सापकोटा 

राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र सापकोटा जिम्मेवारीमुक्त भएका छन । टानको निर्वाचनको सम्बन्धमा वरिष्ठ उपाध्यक्ष सापकोटाले माओवादीको उम्मेदवार बोकेर प्रचारमा हिडेँपछि कारबाहीमा परेका हुन ।

संगठनका महासचिव यमबहादुर खड्काले शुक्रबार विज्ञप्ति निकाल्दै सापकोटा सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको जानकारी दिएका छन । उनले सापकोटाले पार्टी र संगठन विरोधी गतिबिधिलाई निरन्तरता दिए साधारण सदस्य समेत नरहनेगरी कारबाही हुने चेतावनी समेत दिएका छन ।

यसअघि संगठनले सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर सर्वसम्मतका लागि पहल गर्दा सम्भव नभएपछि बहुमतमा जाँदा संगठनले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई चुनौति दिँदै सापकोटाले माओवादी केन्द्रका उम्मेदवार बोकेर चुनावी प्रचारमा लागेपछि संगठनले कारबाही गरेको हो ।

शुक्रबार बसेको संगठनको पदाधिकारी बैठकपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७९ श्रावण २७ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन को पदाधिकारि को बिस्तारी बैठक को निर्णय अनुसार संगठनलाई एकतावद्ध ढंगले अगाडी बढाऊनू सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको दायीत्व भएकोमा यस संगठनका बरिस्ठ उपाध्यक्ष क. राजेन्द्र प्रसाद सापकोटा संगठनको निर्णय विपरित संगठनलाई अहित हुनेगरी बिभीन्न अभिव्यक्ति दिनु भएको, अनाधिकृत रूपमा संगठन को नाम बाट भेला गर्दै हिडनू भएको तथा विभिन्न सामाजीक सन्जाल मार्फत विज्ञप्ती प्रेषित गर्नु भएको प्रति संगठनको बैठकले गंभिर आपत्ती जनाएको छ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘यस संगठनको मुल्य मान्यता तथा महत्वको आधारमा संगठित हुनु भएका सम्पुर्ण सदस्यहरुको वृति तथा व्यक्तित्व विकासमा संगठनले ध्यान दिनुपर्नेमा संगठनले निर्णय गरी आगामी टानको निर्वाचनमा यस संगठनका सदस्यहरुलाई सहभागिता गराईएको विषयलाई उहाले व्यक्त गरेका सार्वजनिक अभिव्यक्तिहरु संगठनको निर्णय विपरित भएको हुदाँ उहाँलाई तत्काल संगठन ले दिएका सबै जिम्मेवारी बाट मुक्त गरि आजको दिन देखी संगठन ले समर्थन गरेको आधिकारिक उम्मेदवारहरु निल हरि बास्तोला समुहलाई सहयोग गर्न अनुरोध गरिन्छ । साथै यस्ता गतिबिधिलाईनिरन्तरता दिएमा यस संगठन को साधरण सद्स्य समेत नरहने गरी कार्बाही गर्न संगठन बाध्य हुने छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार २२:४३