१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन


१९ असार, खोटाङ । हरेक वडामा महिला कृषि सहकारी स्थापना गर्ने अभियानअन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माण गरिएको छ ।

वडा कार्यालयको तीन लाख र नगरपालिकाको नाै लाखको लागतमा दुई कोठे एक तले भवन निर्माण गरिएको हो । कृषि सहकारीको संस्थागत प्रयोजनका लागि बनाइएको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका छन् ।

नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत स्थापना गरिएको महिला सहकारी समूहले आफ्नै भवन निर्माण गरेको हो । भवनको एक कोठा प्रशासनिक र अर्को कोठा सभाहलका रूपमा उपयोग गरिने सहकारीले जनाएको छ । सहकारीको भवन निर्माणका लागि समुहले गत तिहारमा टोलटोलमा पुगेर देउसी कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

भवन उद्घाटनका क्रममा मेयर राईले सहकारीमा आवद्ध गर्भवती र सुत्केरीको पोषण तथा जिविकोपार्जन कार्यक्रमका लागि ६ लाख २५ हजारको चेक हस्तान्तरण गरेकी छन् । सोही कार्यक्रमका वडाका १०३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । यस्तै, ‘बालिका बचत’ कार्यक्रम अन्तरगत ९ बालिकालाई रकमको भौचर हस्तान्तरण गरिएको छ । नगरमा आर्थिक वर्ष २०७७/०७८ यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी ‘बालिका बचत’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १२:२६