१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

२१ जेठ, काठमाडौं । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ । कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इसाम अल सुभीले समान एक गोल गरे ।

नेपालले हाल एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ ।ओमानसँगको खेलसँगै नेपालको बन्द प्रशिक्षणन्तर्गत मैत्रीपूर्ण खेलको तालिका पूर्ण भएको छ । नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेल्यो । जसको पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ को र दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल अब कुवेत प्रतियोगिताका लागि कुवेत प्रस्थान गर्नेछ । समूहमा नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् । नेपाली टिम आज नै कुवेत प्रस्थान गर्दैछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १०:४७