१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मध्यनेपाल नगरपालिका मेयरमा कांग्रेसका पाण्डे र उपमेयरमा एमालेकी गुरुङ विजयी


४ जेठ, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपाल मेयरमा एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छिन् । मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले ६ हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेका छन्।

यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ विजयी भएकी छिन्। उनले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकि छन्। गठबन्धनबाट माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५ मत प्राप्त गरे । यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः दाेस्राे कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । मध्यनेपालमा २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। २०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १५:१३