१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

माओवादी उम्मेदवारले खेताला खोज्न हिँडेका शिक्षकको खुट्टा भाँचिदिए


२७ वैशाख, काठमाडाैँ । बैतडीको डिलासैनी गाउँपालिकामा माओवादी उम्मेदवारले खेताला खोज्न हिँडेका शिक्षकलाई मरणासन्न हुनेगरी कुटेका छन । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापक रामदत्त जोशीलाई मरणासन्न हुनेगरी कुटेका हुन ।

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिडेका कार्यकर्ता वीरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी–५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।

कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दिपकराज जोशीले बताए । कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ भने उनीहरूलाई स्थानीयले दुई घण्टा घेराउ गरेका थिए । गोरु जोत्ने मान्छे खोज्न हिँडेका बेला कुटेको पीडित पक्षले बताएको छ ।

कुटपिटमा संलग्न गाउँपालिकाका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् भने उनी नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् । कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भइरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०९:२०