१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एमालेको ऐजेण्डा एमालेकै विजय


-नन्दु उप्रेती

कुनै पनि यात्रीले यात्राको उदेश्य र लक्ष्य निर्धारण गरेर यात्रा आरम्भ गरेको हुन्छ । गन्तब्य वा लक्षमा पुग्न उसले तय गरेको उदेश्य वास्तविकता एवम् सत्यतथ्यमा आधारित हुनुपर्छ र परिणाममुखी ठहरिनु पर्दछ। अहिले स्थानीय निर्वाचनको समय छ । राजनीतिक पार्टीहरू यात्रीहरू झैँ विजयको गन्तव्यमा पुग्ने अभिलाशाका साथ निर्वाचनको यात्रामा होमिएका छन्।

विजय उनीहरूको लक्ष एवम् उद्देश्य हो । विजयको उदेश्य लिन त सजिलो छ तर त्यहाँसम्म पुग्न धेरै कठिन छ । त्यसका लागि सत्यतथ्यमा आधारित एजेण्डाहरू जरूरी हुन्छन् । चुनावी एजेण्डाहरू देशको समृद्धि र जनताको सुखसँग गाँसिएका हुनुपर्छ । यस्ता एजेण्डाहरूलाई जनताले स्वाभाविक मानून् र सहजै आत्मसात गरुन् ।

स्थानीय निर्वाचनको परिणाममा विजयको झण्डा फहराउने पक्ष बन्न जनचाहना अनुसारका, समय र परिस्थिति मिल्दाजुल्दा, देशको सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक, भौगोलिक सबै कोणबाट स्वभाविक सिद्ध हुने एजेण्डाहरू पार्टीले अगाडि सारेको हुनुपर्दछ ।

हाम्रो सामुन्ने उपस्थित स्थानिय निर्वाचनको दौरानमा विभिन्न राजनीतिक पार्टीहरूका प्रस्तुतिलाई हेर्दा वास्तविक एजेण्डासहित निर्वाचनमा होमिएको पार्टी नेकपा एमाले मात्रै देखिन्छ । देश र जनताका आकाङ्क्षा र आवश्यकता परिपुर्ती गर्ने उदेश्य जोडिएका एजेण्डाहरू नेकपा एमालेले मात्रै प्रस्तुत गरेको छ ।

नेकपा एमालेले केन्द्रीय घोषणा पत्र र स्थानीय प्रतिवद्धतापत्र मार्फत आफ्ना एजेण्डाहरू प्रस्तुत गरेको छ । स्थानीय स्तरमा प्रस्तुत गरिएका प्रतिद्धतापत्रमा उल्लेखित एजेण्डाहरूले स्थानीय जनताको आकाङ्क्षा र आवश्यकतालाई मुखरित गरेका छन् । जनताका दु:खसुखको साथी बन्ने अठोट गरेका छन् । विगतको उपलब्धी र कमजोरीको निर्मम मूल्याङ्कन गरेका छन् । आफ्नो ठाउँलाई समृद्ध बनाउने खाका प्रस्तुत गरेका छन् । जनताका सुख प्राप्तिका आधारहरू खोजेका छन् ।

स्थानीय प्रतिवद्धता पत्रमा प्रस्तुत गरेका एजेण्डाहरूले स्थानीय समस्या हेर्दै समाधानका बाटाहरू पहिल्याएका छन् । बिगतमा सिकेका कुराहरूलाई आफ्नै गाउँठाउँ र आफ्नै गाउँ नगरका बासिन्दाका हितमा प्रयोग गर्ने अठोट गरेका छन् । अनियमितताका प्वालहरू टाल्ने प्रण गरेका छन् । भेद, विभेद र असमानताका बार भत्काउने, समान अवसरका ढोकाहरू खोल्ने सङ्‌कल्प गरेका छन् ।

स्वच्छ छवि, असल चरित्र, उत्कृष्ट कार्यशैली, थकाइवीहिन जनसेवा र समान व्यवहारको घोषणा गरेका छन् । स्थानीय स्तरमा यसरी प्रस्तुत गरिएका एजेण्डाहरूले स्थानीय जनताको इच्छा, आकाङ्‌क्षा, चाहना र आवश्यकतालाई प्रष्ट रूपमा सम्बोधन गरेको पाइन्छ।

यसैगरी नेकपा एमालेले केन्द्रीय घोषणापत्रमा दृढ सङ्कल्पका साथ आफ्ना एजेन्डाहरू अघि सारेको छ । एमालेले प्रष्ट भनेको छ :
– हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।
– हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।
– हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमूना बन्नेछन् ।
– हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।
– हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
– हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कार्बाहीको दायरामा पुऱ्याउन अग्रणी भूमिका खेल्ने छन् ।

यसैकारण अहिले नेकपा एमाले देशैभरिका जनताको आकर्षणको केन्द्र बनिरहेको छ । विगतमा अन्य पार्टीमा रहेर काम गरिरहेका असल र इमान्दार नेता, कार्यकर्ताहरू लाखौंको सङ्ख्यामा एमालेमा प्रवेश गरिरहेका छन् । हिजो विविध कारणले विचलित भएर अन्यत्र पुगेका नेकपा एमालेका नेता, कार्यकर्ता र समर्थकहरू धमाधम एमालेमै फर्किरहेका छन् । यी सबैका पछाडि नेकपा एमालेले केन्द्रीय घोषणापत्र र स्थानीय प्रतिबद्धतापत्रहरूमार्फत प्रस्तुत गरेका एजेण्डानै मूल कारणका रूपमा रहेकाछन् ।

नेकपा एमालेले आफ्नो विजयका लागि जसरी आफ्नो समाज, देश र जनताका चाहना र आवश्यकतालाई मनन् गरी समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त हुन सक्ने एजेण्डा प्रस्तुत गरेको छ । अन्य कुनै पनि दलबाट तथा विद्यमान गठबन्धनबाट त्यस्तो भएको पाइदैन । उनीहरूले प्रस्तुत गरेका चुनावी प्रतिबद्धतामा कि त एमालेकै एजेणडाहरू चोरिएका छन् कि त असंभव प्रलापहरू प्रस्तुत भएका छन् ।

जसलाई न त नेपाली जनताले पत्याउन सक्छन् न त आत्मसात नै गर्न सक्छन् । नेकपा एमालेले जनहितका लागि, राष्ट्रिय स्वाभिमानका लागि, विकास निर्माण र समृद्विका लागि आफ्ना सङ्‌कल्पहरू अघि सारेको छ, आफ्ना एजेण्डाहरू प्रस्तुत गरेको छ र यिनैका आधारमा विजयको मन्जिलमा पुग्नै लागेको छ ।

एमाले अहिले यस्तो उज्वल मार्गमा गन्तव्य निकटको यात्रा गरिरहेको छ भने प्रमुख प्रतिद्वन्दि गठबन्धन अलमल र अन्योल सहित अधोगतिको खाडलउन्मुख यात्रा गरिरहेको छ । भ्रष्ट, असफल, नालायक, क्रूर, अदुरदर्शी, मित्रघाती र बेइमानहरूको नाटकी झुण्डको रूपमा रहेको यो गठबन्धनलाई नेपाली जनता त के उनीहरूका भरपर्दा कार्यकर्ता र समर्थकहरूले पनि लगातार छोडिरहेका छन् । विजयको मञ्जिल चुम्ने यात्रामा उनीहरू धेरै पछि परिसकेका छन् । उनीहरूको विजयको गन्तव्य धेरै टाढा भैसकेको छ ।

राष्ट्रिय र स्थानीय एजेण्डासहित नेकपा एमालेले विजयको शिखर चूमिसकेको देखिन्छ अब निर्वाचनको प्राविधिक औपचारिकता मात्र पूरा गर्न बाँकी छ । अहिले यो देशका सारा जनताले भनिरहेका छन् , “एमालेको एजेण्डा एमालेकै विजय
सुखी नेपालीहरूको समृद्ध नेपाल ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ उप्रेती राष्ट्रिय जनसाँस्कृतिक महासंघ केन्द्रीय सदस्य पनि हुन । 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ११:४४