१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

गठबन्धन भएका ठाउँमा महिलाले मुख्य पदको उमेदवारी पाएनन्


१२ वैशाख, बैतडी । स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुने अवधारणा अनुसार यसअघि बैतडीका १० ओटै स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष पदमा महिला निर्वाचित भएका थिए । तर यसपालि भने चुनावी गठबन्धन गरेका दलहरुले महिलालाई प्रमुख वा उपप्रमुखमा उम्मेदवार बनाएका छैनन् ।

जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)का बीच गठबन्धन भएको छ ।

गठबन्धका तर्फबाट पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावललाई उम्मेदवार बनाइएको छ भने, उपप्रमुखमा माओवादी केन्द्रका कमल बोहरालाई उम्मेदवार बनाएको छ । दोगडाकेदार गाउँपालिकामा कांग्रेसका देवराज जोशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नवराज भट्टलाई उम्मेदवार बनाएको छ ।

यसैगरी पञ्चेश्वर गाउँपालिकामा कांग्रेसका रमेश भण्डारीलाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ । यसैगरी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादीका लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ ।

जिल्लाको शिवनाथमा अध्यक्षका लागी कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षका लागी माओवादी केन्द्रका नरेन्द्र साउदलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच गठबन्धन भएको दशरथचन्द नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले प्रेम थापालाई उमेदवार बनाएको छ भने, एकीकृत समाजवादीले उपप्रमुखमा राजुराम भुललाई उमेदवार बनाएको छ ।

सुर्नया गाउँपालिकामा एकीकृत समाजवादीले नरेन्द्र बिष्टलाई अध्यक्षको उमेदवार बनाएकोमा उपाध्यक्षमा माओवादीले दिलाराम भट्टलाई उम्मेदवार बनाएको छ । सुर्नयामा यसअघि स्वेता भट्टले उपाध्यक्षको टिकट पाएको भन्दै सामाजिक सञ्जालमा चर्चा समेत भएको थियो । तर उम्मेदवारी दर्ता गराउने बेलामा दिलारामले दर्ता गराए ।

यसरी दुवै पदमा पुरुषलाई मात्रै उम्मेदवार बनाउनु दुखःद भएको महिला अधिकारकर्मी शुसिला चन्दले बताइन् । उनले भनिन्,‘अहिले सबै पार्टीमा सक्रिय महिलाहरु रहेकाछन् । । पुरुष प्रधान देश भएकाले नेतृत्वमा अझैपनी महिलालाई स्वीकार गर्न सकेका छैनन् । पार्टी नेतृत्वहरुले गल्ती गरेका छन् । यदि गठबन्धनले दुवै पद जितेमा महिलाको नेतृत्व अझ पछाडी धकेलिने छ ।’

महिला नेतृत्व मञ्च पाटनका संयोजक अनिता जोशी भट्टले भनिन् ‘हामीले सबै पार्टीहरुलाई महिलालाई मुख्य पदहरुका उमेदवार बनाउन सबै दलहरुलाई ज्ञापनपत्र बुझाएका थियौँ । उम्मेदवार बनाउने आश्वासन पनि पाएका थियौँ भने, अधिकांश ठाउँका महिलाहरुले मुख्य पदहरुमा दावी समेत गरेका हुन् । तर अन्तमा परिणाम भने ठ्याक्कै उल्टो आयो । अहिले गठबन्धनका कारण उपप्रमुखको पद समेत महिलाबाट खोसिने अवस्था आएको छ ।’

यस बिषयमा गठबन्धनमा सामेल दलहरुले भने संवैधानिक व्यवस्था अनुसार नै निर्णय गरेको र महिलाहरुले स्वःस्फुर्त रुपमा दावेदारी छाडेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार २१:५१