१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

खोजखबर तिम्रो, नपाएको धेरै भो !


–रामशरण प्याकुरेल

पराले ती पूरानो मांच र घर छोडेर हिड्यौं
जोत्दाजोत्दै, गैरीखेतको हलो जुवा फालेर कुद्यौ
आस्थाले गोडेको मेरो विश्वासलाई ताल्चा ठाेकेर गयाै
तिमी कहां छौं हिंडेको धेरै भो ?
खोजखबर तिम्रो, नपाएको धेरै भो !


गाउं कन्दराका बिसौनी र गोरेटो बिर्सेर गयौ
बासीरोटी बांडी खाने यो गोठाले साथी विर्सेर गयौ
मेरो सुसेल्ने आंखामा संधैभरी आंशु छोडेर गयौ
कहां छौं तिमी, हिंडेको धेरै भो ?
खोजखबर तिम्रो, नपाएको धेरै भो !


दुई दिन शहर के पसेथ्यौ, गाउं भूलेर गयौ
टारीमा हांसीरहने लालुपातेको हांगा भांचेर गयौ
पाईताला त जहां को तहीं छ, परै पुगेको ठान्ने भयौ
कहां छौं तिमी, हिंडेको धेरै भो ?
खोजखबर तिम्रो, नपाएको धेरै भो !


म भोकै बसें, तिमीलाई खुवाएं, त्यो गांस बिर्सने भयौ
म परचक्री भएं, भीडलाई पो तिमी आफ्नो मान्ने भयौ
मुटुमा ठाउं दिइरहें, मायांको साततले भत्काएर गयौ
कहां छौं तिमी, हिंडेको धेरै भो ?
खोजखबर तिम्रो, नपाएको धेरै भो !


मेरो उमंग र उर्जाको दुम्मो मासेर तिमी ठूलो भयौ
मैले ऋण काढें, घीउ खाने तिमी भयौ
पसिनाको पोखरीमा म डुबें, माछा टिप्ने तिमी भयौ
कहां छौं तिमी, हिंडेको धेरै भो ?
खोजखबर तिम्रो, नपाएको धेरै भो !


पाखुरा बज्र्यो, कम्मर मेरो दुन्नियो, ठाडो तिमी भयौ
हार्नलाई केही नाई, मलाई संसार जिताउने भनेर गयौ
म धरापमा, छ्याकन सोहोरेर दरबार तिमीले बनायौ
कहां छौं तिमी, हिंडेको धेरै भो ?
खोजखबर तिम्रो, नपाएको धेरै भो !


ढाडमा बोकें, जंघार कटाएं, लौरो फालेर ठमठम्ती गयौ
गरिमाको हुर्मत लियौ, मोहरको मिठो धुन सुन्ने भयौ
तिमीले लालचमा कोल्टे फे-र्यौं, म चिप्लिंदा तिमी हांस्ने भयौ
कहां छौं तिमी, हिंडेको धेरै भो ?
खोजखबर तिम्रो, नपाएको धेरै भो !

………………
रानीबन, काठमाडाैँ
भाद्र ०१, २०७५

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार ०७:२७