१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

भागबण्डाले तय गर्यो प्रचण्ड र माधवको समान हैसियत


७ वैशाख, काठमाडाैँ । आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् । सत्ता गठबन्धको आजको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एक/एक महानगर प्रमुख पाएका छन् । माओवादीले भरतपुरमा मेयर पाउँदा एकीकृत समाजवादीले पोखराको मेयरको उम्मेदवारी हात पारेको छ ।

त्यस्तै दुवै दलले महानगरमा उपप्रमुख एक/एक स्थानमा पाउने सहमति गठबन्धनमा भएको छ । काठमाडौँमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा ललितपुरमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ । त्यस्तै उपमहानगरपालिकामा माओवादीले दुई स्थानमा मेयर हात पारेको छ ।

घोराही र जितपुर सिमरामा माओवादीले मेयर पाउदा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरको प्रमुख पाएको छ । उपमहानगरमा माओवादीले एक स्थान बढी पाएको छ । त्यस्तै उपमहानगरको उपप्रमुखमा माओवादीले दुई सीट हात पार्दा एकीकृत समाजवादीले तीन स्थान हात पारेको छ ।

माओवादीले धरान र घोराहीमा उपप्रमुख पाएको छ भने इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपप्रमुख हात पारेको छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ५३ सांसद रहँदा एमालेबाट फुटेर बनेको नेकपा(एकीकृत समाजवादीमा) २२ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १९:२०