१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

–भवानी नेपाल

यस बखत ति मेरा औँलाहरुका बारे,
गम्भीर सोँचमा डुबेको छु।
मेरा ति अवोध,मनोहर औँलाहरु…

जसले बाबाको कान्छी औँला समाएर
बाल संसारको यात्रा गर्ने गर्दथ्यो,
आमाको पछ्यौरीको पछि-पछि लागेर
मेलापात घुम्न आतुर हुने गर्दथ्यो,
हो तिनै औँलाहरु, आज कहाँ गए होलान्?

साथीसङ्गी सँगै मिलेर बालुवाकै सहि,
महल बनाउँने ति औंलाहरु…
डण्डिबियो र काँचका ढुङ्गाहरुलाई,
मित्रताकपको खेलमा,
विजय हासिल गराउँने ति औंलाहरु…
खै आज कहाँ गए होलान्?

उमेर सँगैको परिवर्तित् औँलाहरु,
जसले रुखको बोक्रा तासेर,
प्रेमिकाको नाम खोपेर,
खुशी हुने गर्दथ्यो।
अविरल वायुमा उडी टाडा-टाडा पुग्न प्रयासरत,
उनका ति कपाल सुम्सुम्याउने औंलाहरू…
आज कता बिलिन भएर गए?

“उडि छुने चन्द्र एक” उदेश्यले बेला बेला
भविष्यको प्रगतीपथ खोज्दै,
पुस्तकका ति पत्रहरु पल्ट्याउने औँलाहरु…
कहाँ गए होलान् आज?

दौँतरी र बटुवाहरुलाई बाटो देखाउँने औँलाहरु…
सामाजिक स्वार्थ भन्दा माथी उठेर,
हर कोहीलाई प्रणाम गर्ने ति औँलाहरु…
खै आज कता गए होलान्?

यौवनले भरिपुर्ण त्यो बेलाको जोबनमा,
कु-बिचारले कु-दृष्टि लगाएर,
कुनै नारिको कुमारीत्व माथि,
कु गर्न सल्बलाउने,
ति पापी तर निर्दोष औँलाहरु…
आज कहाँ गए होलान्?

आज म सँग भएका यी औँलाहरु त… बस…
बाबाले बाल्यकालमा ठुलो “क” लेख्न सिकाउनु भएतापनि,
त्यही “क” बाट निर्मित,
करोडपति बन्ने होडबाजीमा जुटेका छन्।

आमाको पछ्यौरीको पछि-पछि लाग्ने ति औँलाहरु…
आज आमा भन्दा कयौँ कोस पर…परदेशमा,
परिवेश नमिलेर, पछुताईरहेका छन् ।

साथिसङ्गी सँगै बालुवाको महल बनाउँने औँलाहरु…
सपना…कङ्कृटको महल बनाउने देखेपनि,
समस्या र बाध्यताको ईट-पत्थरले,
भारी भएर थिचिएका छन्।

सपना मैले र औँलाहरुले, जे जे देखेपनि…
आज यस कुरामा खुशी छु कि…
जानी नजानी भावनाहरुलाई लत्पत्याएर लेख्न,
मलाई मेरा यी औँलाहरुले साथ दिएका छन्।

तथापी म बेला बेला सोँच्ने गर्दछु,
मेरा ति अवोध…मनोहर औँलाहरु,
आज कहाँ गए होलान्?
आज कहाँ गए होलान्?

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार १९:०४