१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सेटिङमा पाँच अर्बको ठेक्का हत्याउँदै नेपाली कांग्रेसका सांसद मोहन आचार्य


७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाका सांसद मोहन आचार्य र कांग्रेस निकट रमेश शर्माले सेटिङमा पाँच अर्बको ठेक्का हत्याउन लागेका छन । विनाप्रतिस्पर्धा उनीहरूले लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको ठेक्का हत्याउन खोजेका हुन । आचार्यको रसुवा कन्सट्रक्सन र शर्माको शर्मा एण्ड कम्पनीका लागिमात्र हुनेगरी टेण्डर गरिएको पाइएको छ ।

लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङ मार्फत आचार्य र शर्माको कम्पनीलेमात्र टेण्डरमा सहभागी हुन मिल्नेगरी सूचना प्रकाशित गरिएको छ । खरिद ऐनमा नभएको मापदण्ड कायम गरी ठेक्का गरेको भन्दै अन्य निर्माण व्यवसायीले बिरोध जनाएका छन ।

प्राधिकरणले गत फागुन ८ मा करिब ५ अर्ब रुपैयाँ लागतको प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । बोलपत्रमा नेपाली र विदेशीका लागि फरक फरक मापदण्ड कायम गरिएको छ । जुन कुरा सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको नमुना बोलपत्र कागजातमा उल्लिखित प्रावधानको प्रतिकूल हो ।

प्रतिनिधिसभा निर्वाचनमा रसुवाबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नु अघि उनी खासै राजनीतिमा क्रियाशिल थिएनन् । यद्यपी नेपाली कांग्रेस पार्टीको आडमा ठेक्का हत्याउने काम गर्थे । आचार्यको रसुवा कन्सट्रक्सन कम्पनीले अहिले पनि १२ अर्ब बढीको काम गरिरहेको छ । आचार्यको रसुवा कन्सट्रक्सनले जिम्मा लिएर काम गरिरहेका देशभरका ५० पुल र २५ भन्दा बढी सडक अलपत्र रहेका छन ।

सरकारी ठेक्का हात पारेर वर्षौसम्म योजना अलपत्र पार्नेमा आचार्य जस्तै सांसद तथा मन्त्रीका निर्माण कम्पनीहरुनै अगाडि छन । सुशासन ऐनले एकैजनालाई नीति निर्माण र कार्यान्वयन दुवैमा रहन निषेध गरेको छ । तर, प्रतिनिधिसभा र प्रदेशसभामा मात्रै १८० भन्दा ठेकेदार सांसदहरु रहेका छन र त्यही संसदको लोगोको आडामा विकास निर्माणको काममा भएको लापरबाही ढाक छोप्ने प्रयत्न गरिरहेका छन ।

आचार्य तीनै व्यक्ति हुन जसले रसुवाका चुनाव जित्नका लागि २५ करोड खर्च गरेको आरोप लागेको छ । आचार्यका विरूद्धमा पैसाको बलमा पार्टी कब्जा गर्न खोजेको भनेर रसुवाकै कांग्रेसका कार्यकर्ताले अन्तरसंघर्ष गरिरहेका छन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०९:५६