१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लायन्स क्लबमा व्यापक भ्रष्टाचार, सदस्यता शुल्कबाट मात्र वार्षिक २५ करोड रूपैयाँ बाहिरिन्छ


५ चैत, काठमाडाैँ । सामाजिक सेवामा सकृयता देखाउदै आएको अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबमा आर्थिक अपारदर्शीता माैलाउदै गएको छ। करोडौं रकमकाे काराेवार हुने संस्थामा पारदर्शी रुपमा कुनै लेखापरीक्षण समेत नहुने सराेकारवालाहरु बताउँछन् । वार्षिक रुपमा गभर्नरहरुले ल्याउने कार्यक्रमहरु आर्थिक संकलनमा केन्द्रित हुने गरेको छ।

पढाउ अभियान, लायन्स माेडल भिलेज, वेलफेयर बैककाे नाममा करोडौं रकम जम्मा गरेको तर केहि लाख खर्च गरेर बाकी रकमकाे हिसाबकिताब सार्वजनिक नगर्नुले आशंका बढेको लायन्स क्लबमा सकृय पदाधिकारीले बताएका छन । नेपाल लायन्स काेषदेखि डलरमा बुझाउने अन्तर्राष्ट्रिय शुल्कहरुकाे लेखाजोखा गर्ने हाे भने अहिलेसम्म अरबाैकाे काराेवार भएको छ।

एक जना लायन्स सदस्यले नवीकरण बापत बार्षिक ४३ डलर अन्तर्राष्ट्रियमा पठाउनु पर्ने र नेपालमा ५० हजारकाे संख्यामा लायन्स सदस्य रहेको हिसाबले वार्षिक २५ करोड रकम बाहिरिने देखिन्छ ।

डिस्ट्रिक शुल्कको रुपमा थप सात सय देखि एक हजार सम्म प्रतिव्यक्ति शुल्क लिने प्रावधान रहेको तर उक्त रकम कहाँ खर्च हुन्छ कुनै जानकारी नभएको बताउँछन् । क्लब स्तरमा हुने कार्यक्रमहरुमा समेत नियमित रकम उठाईने तर खर्च पारदर्शी नगर्ने प्रवृत्तिले लायन्स क्लब बदनाम हुदै गएकोछ।

नयाँ क्लब खाेल्ने नाममा समेत करोडौं रकम जम्मा गर्ने गरेकाछन्। बिस जना सदस्य रहेको एउटा क्लब खाेल्न दर्ता शुल्क जनही ३५ डलर र अन्तर्राष्ट्रिय डिउज ४३ डलर तथा डिस्ट्रिक डिउज सात सय लिने गरेको छ। यसरी एउटा क्लब खाेल्दा एक जनाको कम्तीमा रु १० हजार काे दरले २० जनाकाे दुई लाख लाग्ने गर्छ।

नेपालमा बार्षिक १०० वटा भन्दा बढी क्लबहरु खुल्दछन् । सामाजिक सेवाको नाममा विकास निर्माणमा समेत हात हाल्न थालेको लायन्स क्लबले खानेपानी, सिचाइ व्यवस्थापन, स्कुल भवन निर्माणकाे नाममा माेटाे रकम हिनामिना गर्ने गरेको असन्तुष्ट सदस्यहरुले दैनिकीसँग गुनासो गरेकाछन्।

Anti Corruption

लाखौं रुपैयाँ चन्दा उठाएर केहि हजार खर्च गरी फाेटाे खिचेर प्रचार गर्ने प्रवृत्तिले सामाजिक सेवा प्रतिनै वितृष्णा फैलिएको छ। लायन्स क्लबकाे गभर्नर हुन लाखौं खर्च गरि चुनाव लड्ने तर गभर्नरले के कति फाईदा प्राप्त गर्छन् भन्ने बारेमा अहिलेसम्म गोप्य राख्ने गरिएको छ ।

दैनिकीको सम्पर्कमा अाएका एक जना पदाधिकारीका अुनसार एक जना गभर्नरले कम्तीमा १ करोड आम्दानी गर्छन । पदस्थापन, क्लब भिजिट लगायत विभिन्न बाहानामा भत्ता आर्जन गर्ने प्राबधान रहेकोछ। अन्तर्राष्ट्रिय डाइरेक्टर हुनेले अझ बढी आम्दानी गर्ने गरेको ती पदाधिकारीले बताए ।

विभिन्न काेषमा जम्मा भएको करोडौं रकम बैंकमा मुद्दती खातामा जम्मा गरि बैकसंग मिलेमतोमा कमिसन आर्जन गर्ने गरेको समेत उनले बताए । लायन्स क्लबकाे नेपाल लायन्स काेष, एलसिआईएफ, वेलफेयर बैक, ब्लड बैंक, पढाउ अभियानकाे नाममा अर्बाै रकम रहेको जानकारहरु बताउँछन् । तर ती रकमको सदुपयोग या दुरूपयोगका बारेमा राज्य र लायन्सका सदस्य दुबै बेखबर रहेका छन ।

लायन्समा लागे अमेरिका जान पाईने प्रलोभन देखाएर सदस्य बनाउने घटना समेत बाहिरिएको छ । केहि बर्ष अगाडि अमेरिकामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका सदस्यहरु मध्ये करिव ३०० नेपाली अमेरिकामै लुकेर बसेका थिए । त्यसरी अमेरिकामा लुक्नुमा तत्कालीन गभर्नरको हात रहेको र लाखौं रकम असुलेर अमेरिका लगिएको आराेप समेत लागेको छ । यो कानुनका नाजरमा मानवतस्करी समेत हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार २२:००