१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक


काठमाडाैँ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले किशोरी विज्ञता कार्कीद्धारा लिखित ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रहको आज यहाँ विमोचन गर्नुभएको छ । तरेली साहित्यिक प्रतिष्ठानले आज यहाँ आयोजना गरेका ‘विमोचन तथा तरेली सम्मान, मसि सिर्जना एवं वाश्री पुरस्कार’ वितरण समारोहमा उहाँले उक्त निबन्ध संग्रहको विमोचन गर्दै निबन्धमा युवा अवस्थामा मानिसले सिक्नुपर्ने कुरालाई लेखिकाले सिलसिलाबद्ध रुपमा उल्लेख गर्नुभएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले निबन्धमा युवालाई नैतिकवान बनाउन प्रयास गरिएको उल्लेख गर्दै अहिलेको युवाको विचार र व्यवहारको खाडललाई समेत पुस्तकले पुर्ने प्रयास गरेको छ भन्नुभयो । ‘‘हामी देश विकासका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्नेतर्फ लाग्छौ’’ उहाँले भन्नुभयो, ‘‘ देश विकास गर्नु भनेको पुस्ताको विकास गर्नु पनि हो, त्यसमा हामी चुकेका छौ ।’’

पुस्तकमाथि टिप्पणी गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा जीवेन्द्रदेव गिरीले बालसाहित्य र अरु साहित्यमा पुस्तक लेखिने गरेता पनि लेखकले किशोर साहित्यमा पुस्तक लेखेर किशोर साहित्यको खाडल पुर्ने काम गरेको बताउनुभयो । समीक्षक सुरेश अर्यालले गलत वाटोमा लागेका युवालाई लेखिकाले निबन्धमार्फत सही बाटो लाग्न सन्देश दिएको बताउनुभयो ।

समिक्षक सुलोचना मानन्धरले युवालाई सत्य, इमान्दार बन्न पुस्तकले सहयोगी भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । लेखिका कार्कीले अहिलेका युवा र बालबालिकालाई लक्षित गरेर निबन्ध लेखिएको बताउँदै युुवा र वालबालिकाले आफ्नो भविष्य र मुलुकको भविष्यमा लाग्न कुरा निबन्धमा उल्लेख गरिएको जानकारी गराउनुभयो ।

शंखरापुर –८ साँखुका कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द, यात्री सिंह, विज्ञताज् स्टोरिज गरी तीनवटा कृति प्रकाशित छन् । सोही समारोहमा तरेली सम्मानबाट साहित्यकार अच्युत प्याकुरेललाई सम्मानित गरिएको छ । यसैगरी मसी (मधु कार्की र शिवहरि विष्ट) सिर्जना पुरस्कार गायिका रोशी श्रेष्ठ डंगोल तथा वाश्री (कलमबहादुर विष्ट र रामचन्द्र कार्की ) पुरस्कार स्वर्गिय यज्ञनिधि दाहाललाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशि नगद रु १० हजार रहेको तरेली प्रतिष्ठानका अध्यक्ष गायत्री विष्टले जानकारी दिनुभयो ।

    

 

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार २१:१३