१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

दुर्घटनाका घाइते डिकबहादुरको पीडा : प्रहरीले गाडी पहिचान गर्न नसक्दा उपचारमा सकस


२२ माघ, झापा । बिर्तामोड-१ का डिकबहादुर विश्वकर्मा ३० कात्तिकमा दसैं मनाएर बिराटचोकबाट घर फर्कँदै थिए । उनी सवार मे८प ५२९८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको कारले दमक चोकमा ठक्कर दियो । ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्यो । खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । दुर्घटनापछि उनले बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लामो उपचार गराए । उपचार गराउँदा उनको तीन लाख खर्च भयो ।

‘ठक्कर दिएपछि खुट्टामा चोट लागेको छ । विएण्डसीले अस्पतालमै बसेर उपचार गराउनुभन्दै थियो । पैसा नएकाले मैले घर पनि नजिकै छ भनेर घरमै धाउन थाले,’ उनी भन्छन्, ‘ऋण काढेर निकालेको तीन लाख रकम सकियो। महँगो औषधी खाइरहनुपरेको छ । निकै गाह्रो छ ।’

ठक्कर दिने कारको रंग थाहा छ उनलाई । तर, दुर्घटनामा पर्दा उनले कारको नम्बर भने ख्याल गर्न सकेनन् । ‘दमकमा सेतो कारले ठक्कर दियो । कार हाइवे दक्षिणबाट आइरहेको थियो । ठक्कर दिएर कार भाग्यो,’ उनी भन्छन्, ‘त्यति देखेँ । त्यहाँबाट म बेहोस भएँ । केही थाहा छैन ।’

मध्य दिनको २ बजे उनलाई कारले ठक्कर दिएको थियो । ठक्कर लगत्तै इलाका प्रहरी कार्यालयमा उनले जाहेरी पनि दिए । तर, प्रहरीको बेवास्ता गर्दा कारको पहिचान हुन नसकेको उनको गुनासो छ । ‘प्रहरी कार्यालय त कति धाएँ-धाएँ । सिडिओ कार्यालयसम्म निवेदन पनि दिएँ,’ उनी भन्छन्, ‘प्रहरीले वास्ता नै गरेन । जसका कारण म समस्यामा छु ।’

डाक्टरले खुट्टाको अपरेसन गर्नुपर्छ भनेका छन् । तर, उनले आफूसँग रकम नभएकाले अप्रेसन गर्न सक्ने आट जुटाउन नसकेको बताएका छन् ।

‘मलाई उपचार खर्च दिए हुन्छ भन्ने हो । उपचार नपाएर म अपाङ्ग हुन नपरोस् भन्ने हो । घटना भएको तीन महिना हुन लाग्यो । दुर्घटना भएकै दिन जाहेरी दिएको थिएँ,’ विश्वकर्मा भन्छन्, ‘दमक चोकमा सिसिटिभी त होला नि ? कर कार्यालयमा होला ? प्रहरीले वास्तै गर्दैन ।’ उनले प्रहरीको बेवास्ताका कारण ठक्कर दिने सवारी कुनै पहुँचवाला व्यक्तिको भएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय दमकले भने खोजी गरिरहँदा पनि नभेटिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले प्रयास गर्दा पनि नभेटिएको बताए ।

‘दुर्घटना नभएको स्थानमा सिसी क्यामेराले पनि क्याच नगर्ने रहेछ । हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘कर कार्यालयको सिसिटिभीले पनि गेटसम्म देखाउने रहेछ । बाटोमा हिँडेको देखाएर । यसमा हामी गम्भीर छौँ । खोजिगरिरहेका छौँ ।’

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार २०:०६