१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विदेशमा प्रख्यात नेपालका हिमाल चिनाउने कचौरा र धुन


-बालगोपाल उपाध्याय

२६ पुस, अष्ट्रेलिया । नेपाललाई बुद्ध अनि सगरमाथाको नामले धेरै अष्ट्रेलियनहरूले चिन्छन् । प्रवास भासिएपछि देशको माया सम्झना त आउछनै काममा होस् वा कलेजमा नेपाल भन्दा कता पर्छ भन्ने गरिने प्रश्न भन्दा पनि इन्डियाको कुन भाग हो ? भन्ने प्रश्नले धेरै नेपालीहरूलाई पीडा दिने गरेको छ ।

त्यसैलेहोला नेपालमा राष्ट्रिय झण्डा, राष्ट्रिय पोशाक नहुने नेपाली कति होलान तर नेपाली सहभागी हुने प्रवासमा प्रत्येक जसो सार्वजनिक कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा हुनु र टोपी ढल्काउदै जानु सामान्य बनिसकेको छ । यिनै यिनै कथा जस्तै हो अष्ट्रेलियाका विभिन्न सहरमा नेपाली युवाहरूले सुरू गरेका छन्- हेर्दा हामीले प्रयोग गर्ने कचौरा जस्ता देखिने भाडालाई विभिन्न तरिकाले बजाउदै गरिने सिङ्गीङ वल वा हिमालयन बाउल वा तिब्बतियन बाउल बजाउने कलाको प्रशिक्षण कार्यक्रम ।

हिमालयन बाउल एक प्रकारको घण्टी हो जुन कम्पन हुन्छ र बजाउँदा समृद्ध, गहिरो स्वर उत्पन्न हुन्छ । यसलाई सिङ्गीङ बाउल वा तिब्बतियन बाउल भनेर पनि चिनिन्छ । यसले आनन्द दिन्छ । यसले शक्तिशाली रोगहरू पनि निको पार्ने गुणहरू प्रदान गर्दछ भन्ने मान्यता रहेको छ ।

बौद्ध भिक्षुहरूले लामो समयदेखि ध्यान अभ्यासमा यस्ता बाउलहरुको प्रयोग गर्दै आएका छन् । त्यसैगरि केही संगीत चिकित्सकहरू, मसाज चिकित्सकहरू र योगचिकित्सकहरूले पनि उपचारका क्रममा हिमालयन बाउलहरू प्रयोग गर्ने गरेका छन ।

अष्ट्रेलियमा पनि केहि वर्षदेखि यस्ता हिमालयन बाउलहरूको प्रशिक्षण हुँदै आएको छ । नेपालमा यस्ता प्रशिक्षण सिक्दै नेपालको पर्यटकीय केन्द्र ठमेलका प्रशिक्षण केन्द्रहरुमा काम समेत गरेर आएका सनम महर्जन तथा मुना श्रेष्ठले हालै एडिलेडमा हिमालयन बाउल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन । उनीहरूले नौ जना अष्ट्रेलियन नागरिकहरूलाई प्रशिक्षित गरेका छन । मुना श्रेष्ठले हाल मेलर्वनमा हिमालयन सिङ्गीङ बाउल तथा हिलिङ सेन्टर सञ्चालन गर्दै आएकी छिन ।उनी नेपालमा सन २०१४ देखि यस क्षेत्रमा लागेकी हुन ।

प्रशिक्षक तथा साउन्ड थेरापिस्ट सनम महर्जनले सन् २०१३ मा एडिलेडमा नमस्ते ह्यानडीक्राफ्ट मार्फत नेपाली हस्तकलाका सामाग्रीहरुको व्यवसाय गर्दै आएका छन । महर्जनले दैनिकीसँग कुरा गर्दै सानोतिनो व्यवसाय पनि हुने त्यो भन्दा नेपालको हस्तकलाको पनि प्रवर्द्धन हुने भएकाले आफू यस क्षेत्रमा लागेको बताए । महर्जनका अनुसार न्युजिल्याण्डको कुइन्सटाउनमा समेत उनीहरूले समुहकी सुमी श्रेष्ठले प्रशिक्षणहरू सञ्चालन गर्दै आएकी छिन ।

हिमालयन बाउल भित्र पनि विभिन्न समस्याका लागि विभिन्न हिलिङहरू रहेको महर्जनले बताए । उनका अनुसार डिप्रेसन जस्ता समस्याका लागि तिब्बतियन साउन्ड हिलिङ, छाति दुख्ने जस्ता समस्याका लागि वेदिक हिलिङ लगायत समूहमा साउन्ड वाथ लिनका लागि ठूलो ड्रमहरू बजाएर समेत उपचार गरिन्छ ।

थेरापिस्ट महर्जनले हिमालयन बाउलको प्रचार प्रसार तथा नेपाली हस्तकलाको प्रवर्द्धनका लागि एडिलेडमा आइतबार लाग्ने स्थानीय बजारहरूमा स्टल सञ्चालन पनि गर्दै आएका छन । न्युजिल्याण्डमा समेत स्थानीय बजारमा हस्तकलाको प्रदर्शन तथा प्रवर्द्धन गरेको बताउदै उनले भने, ‘बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा बजारका स्टलको भ्रमण गर्ने धेरै व्यक्तिहरुलाई नेपालबारे परिचय पनि गराएको छु ।’

हिमालयन बाउलको प्रशिक्षणमा सहभागीहरू धेरै सन्तुष्ट पाएको कतिपय त नेपालमा हिमाली भेगमै गएर समेत यस्ता प्रशिक्षण लिनेबारेमा जिज्ञासु रहेको उनले बताए । उनले भने, ‘प्रशिक्षणमा नेपालको हिमालय क्षेत्र त्यहाँको शान्ति र सुन्दरताको बारेमा व्याख्या गर्दा सहभागीहरूले धेरै चासो र उत्साह व्यक्त गर्ने गरेका छन । जुन हाम्रा लागि सुखद् कुरा हो ।’

न्युजिल्याण्डमा आयोजित कार्यक्रममा एक सहभागी ।

महर्जनले कोरोना महामारीले समस्या नगरे प्रत्येक तीन/तीन महिनामा यस्ता प्रशिक्षण सञ्चालन गर्ने वताउँदै आफ्नो लागत मात्र उठ्ने गरि शुःल्क लिने गरेको जानकारी दिए । उनले भगवान बुद्धको जन्मस्थल लुम्विनीदेखि धेरै शान्तिका प्रतिकहरू मात्र नभएर हाम्रा कलाकृति र संस्कृतिबारेमा विश्वमा रहेका हामी नेपालीहरू अवैतनिक पर्यटनदूत भएर प्रचारप्रचार गर्ने हो भने नेपाल व्यापकट पर्यटक भित्राउन सकिने बताउँछन । उनले सबैको साथ र सहयोग हुने अवस्थामा समृद्ध नेपाल बनाउने मुख्य आधार पर्यटन बनाउन सकिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १४:४३