१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सरकारीमा सर्वोत्कृष्ट त्रिशुली अस्पतालमा कांग्रेसको गिद्देनजर, अध्यक्ष बर्खास्त गर्न सोध्यो स्पष्टिकरण


१५ पुस, नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल देशभरका अस्पताल मध्येमा सर्वोत्कृष्ट बन्न सफल भएको खबर सार्वजनिक भएको २४ घण्टा नबित्दै नेपाली कांग्रेसको नेतृत्वले अस्पताल विकास समितिका अध्यक्ष बर्खास्त गर्न स्पष्टिकरण सोधेको छ ।

कांग्रेस नेतृ कल्पना नेपाली बागमती प्रदेशको स्वास्थ्य राज्यमन्त्री भएपछि नुवाकोटको अस्पतालको नेतृत्वमा कांग्रेसकै कार्यकर्ता भर्तिका लागि अध्यक्ष अर्जुनप्रसाद न्यौपानेसँग स्पष्टिकरण माग गरिएको छ । कांग्रेस निकट नै मानिने बागमती प्रदेशका स्वास्थ्य सचिव बद्री खड्काले न्यौपानेसँग स्पष्टिकरण माग गरेका छन । पुस १९ भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।

विगतदेखि नै त्रिशुली अस्पताल कांग्रेसले राजनीतिको क्रिडास्थल बनाउँदै आएको थियो । तर पछिल्लो चार वर्षदेखि तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेयता अस्पतालमा व्यापक परिवर्तन आएको छ । लगातार दुई वर्षदेखि अस्पताल देशभरका सरकारीमा उत्कृष्ट घोषित भएको छ । तर यही बेलमा च्याखेँ दाउबाट सरकारमा पुगेको कांग्रेसको गिद्दे नजर लागेको छ ।

विगतमा कांग्रेसको सरकार हुँदा नुवाकोटका मन्त्री हुँदा त्रिशुली अस्पतालामा दरबन्दी राखेर कांग्रेस निकटका चिकित्सकले काठमाडौँमा क्लिनिक चलाउने र कांग्रेसको राजनीति गर्ने गर्थे विगत केही वर्षयता अस्पतालमा चिकित्स नै चिकित्सक र विभिन्न जटिल रोगको समेत सेवा सुचारू गराउन समन्वात्मक भूमिका खेलाका न्यौपानेमाथि कांग्रेस खनिएको छ ।

बागमती प्रदेशमा गठबन्धन सरकार नै भए पनि माओवादी निकटका न्यौपानेलाई अस्पतालबाट विदा गर्नका लागि नै स्पष्टिकरण सोधिएको मन्त्रालय स्रोतले जनाएको छ । सरकारी अस्पतालमा उत्कृष्ट बनेको र ठूला अस्पतालको भन्दा राम्रो ढंगले आइसियुको समेत चलिरहेको अस्पताल कांग्रेसको किचलोले थप समस्यामा पर्ने हो कि भन्ने चिन्ता सुरू भएको छ ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेले सुरू गराएका राम्रा र दीर्घकालीन विकासका काम स्थगित गर्ने निर्णय गरिसकेका छन । त्रिशुली अस्पतालका सन्दर्भमा पनि पाण्डेले न्यौपाने हटाउन मौखिक सहमति प्रदान गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

अस्पताल सुधारका निम्ति तत्कालीन एमाले नेतृत्वको प्रदेश सरकारले माओवादी कार्यकर्ता भए पनि न्यौपानेलाई अस्पताल विकास समितिको जिम्मा दिएको थियो ।

अघिल्लो वर्ष ८८ अंक ल्याएर नेपालभरी उत्कृष्ट बनेको नुवाकोटको त्रिशुली अस्पतालले यो वर्ष त्यसमा पनि सुधार गर्दै ९४ अंक प्राप्त गरेको छ । त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक प्राप्त गरेको मेडिकल सुपरिटेण्डेण्ड डा दीपेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेले जिल्ला अस्पतालले नै दर्जनौंको संख्यामा आइसियु सञ्चालन गर्नु अन्य अस्पतालका लागि समेत प्रेरणाको विषय रहेको बताए ।

सबैको साझा प्रयासमा अस्पतालले उत्कृष्टता प्राप्त गरेको र देशमै नमुना भएको भन्दै डा पाण्डेले विगतमा जस्तै भोलिको दिनमा पनि सहयोगको अपेक्षा गरे । तर यहीबीचमा कांग्रेसले भने अस्पतालको नेतृत्व परिवर्तनका लागि खेल सुरू गरेको छ ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार २२:४७