१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

तस्बीरमा हेर्नुहोस्, संसदीय चुनावको झल्को दिने विद्यार्थीको टोली नेता छान्ने मतदान


९ पुस, नुवाकोट । विद्यालय शिक्षामा सैद्धान्तिक सिकाइ मात्रै हुँदा विद्यार्थी व्यावहारिक हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा नुवाकोटको बेलकोटगढी–११ स्थित एक सामुदायिक विद्यालयले प्रयोगात्मक सिकाइमा फरक अभ्यास गरेको छ ।

उपल्लो तिगाउँस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० को सामाजिक विषयअन्तर्गत ‘निर्वाचनको प्रक्रिया’ शीर्षकको पढाइमा लागि आज विद्यालय परिसरमा कक्षा तीनदेखि १०का विद्यार्थीको सहभागितामा नमूना निर्वाचन गराएको छ । नमूना मतदानबाट विद्यार्थीको टोली नेता र उपनेतासमेत चयन गराइएको छ ।

मतदानामा ३० जना कूल मतदातामा रहेकामा २६ जनाले भाग लिएका थिए । उनीहरूलाई लाइन लगाइएर मतदानमा सहभागी गराइएको थियो । मतदान सकएपछि विद्यार्थीले नै सुरक्षासहित मतपेटिकलाई काँधमका बोकेर विद्यालयमै तयार गरिएको मत गणनास्थलमा लगेका थिए भने निर्वाचन आयोगका आयुक्त र निर्वाचन अधिकृतका रुपमा विद्यार्थी नै परिचालित थिए ।

मतगणनाको परिणामअनुसार टोली नेतामा निर्जला पनेरूले १९ र प्रतिस्पर्धी नमूना तामाङले सात मत प्राप्त गरेपछि पनेरुलाई विजयी घोषित गरियो । उपनेतामा अशिम पाण्डेले १५ मत ल्याएर विजयी भएका थिए भने प्रतिस्पर्धी अमन लामाले ११ मत प्राप्त गरेका थिए ।

विद्यालयका सामाजिक विषय शिक्षक सुदर्शन खतिवडाले चार वटा हाउसका टोली नेता र उपनेता, १० वटा कक्षाका नेता र उपनेता गरी २६ ले मतदान गरेका थिए । पहिलो चरणमा विद्यार्थीले नै ती टोली नेता र उपनेता छानेका थिए । अन्य विद्यार्थीले रमाइलो मानेर हेरेका थिए । विद्यालयमा कूल ४७६ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रधानअध्यापक शम्भु तिवारीले निर्वाचन प्रक्रियाबारे विद्यार्थीमा सिकाइ हुनाका साथै टोली नेता चयनकार्य पनि सम्पन्न गराइएको बताउनुभयो । उहाँले यसले विद्यार्थीमा नेतृत्व विकास र मतदाता शिक्षाबारेमा ज्ञान, अभ्यास बढेको जनाउँदै सो प्रक्रियामा शिक्षकले सहजीकरणको काम गरेको जनाउनुभयो ।

विद्यालयले निर्वाचनमा प्रयोग हुने सामग्री स्थानीयरूपमै न्यून लगानीमा गरेको थियो । स्थानीय पसलबाट खाली बाक्सा ल्याएर तथा मतपत्र विद्यालयमै तयार गरिएको थियो भने मतदाता नामावली कक्षाकोठामा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार २१:३३