१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विजेताहरुलाई ट्रफी र नगद पुरस्कार प्रदान


१४ फाल्गुण, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (नीफ) ले काठमाडौंमा आयोजित एक कार्यक्रमविच विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । विजेताहरुलाई नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्रफी र नगद पुरस्कार प्रदान गरेका हुन् ।

महोत्सवमा पाँच दिनसम्म ४० देशका ६० फिल्महरू प्रदर्शन गरिएको छ । आयोजकका अनुसार फाल्गुण ९ गतेदेखि १३ गतेसम्म काठमाडैंस्थित राष्ट्रिय सभा गृह र पर्यटन बोर्डमा कार्यक्रम गरिएको हो । महोत्सवमा डेढ दर्जन चित्रकारका कलाकृतिको प्रदर्शनी तथा कार्यशाला संचालन गरिएको छ । चलचित्र महोत्सवको अवसर पारेर नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ प्रदर्शनी तथा कार्यशाला गरिएको आयोजकले बताएको छ ।

दोस्रो नीफका अवसरमा गौतम बुद्ध अवार्डअन्तर्गत सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ ‘ए ल्यान्ड इम्याजिन्ड’ (सिंगापुर) ले एक हजार डलरसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । माउण्ड एभरेष्ट अवार्डअन्तर्गत सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मतर्फ ‘मीन आलाप’बाट सेन्जुटी टुसी (भारत-बंगलादेश) ले पाँच सय डलरसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । विशेष जुरी अवार्ड ‘कमला रकेट’बाट नूर इमरान मिठु (बंगलादेश) ले जितेका छन् ।

नेपाली प्रतिस्पर्धा अन्तर्गतका राष्ट्रिय चलचित्रमध्ये ‘डाइङ क्यान्डल’ लाई पचास हजार रुपैंयासहित सर्वोत्कृष्ट चलचित्र पुरस्कार र नेपाली सर्ट फिल्ममध्ये ‘सुपरमंक’ स्यनांग ग्याल्मो तामाङलाई पच्चीस हजार नगदसहित सर्वोत्कृष्ट लघु चलचित्र पुरस्कार प्रदान गरिएको छ । यसैगरी, सर्वोत्कृष्ट निर्देशक पुरस्कार ‘डाइङ क्यान्डल’बाट नरेश कुमार केसी, सर्वोत्कृष्ट निर्देशक पुरस्कार ‘आमा’बाट परिच्छेद सेन, सर्वोत्कृष्ट पटकथा पुरस्कार ‘पञ्चायत’बाट शिभम् अधिकारी, सर्वोत्कृष्ट छायाँकार पुरस्कार ‘डाइङ क्यान्डल’बाट रविन आचार्य र सर्वोत्कृष्ट सम्पादक पुरस्कार ‘सुपर मक’बाट लव प्याकुरेलले प्राप्त गरेका छन् ।

सोमबार सम्पन्न भएको समापन समारोहमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए भने चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यत गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवले नेपालको चलचित्रलाई विश्वव्यापी बजारमा पुर्याउन सघाउनेछ ।’ कार्यक्रममा बोल्दै नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (एनआईएफएफ) का अध्यक्ष केपी पाठकले स्वदेशमा आयोजना हुने फिल्म फेस्टिभलको कदर गर्न आग्रह गरे र यस्ता महोत्सवहरुमा उत्साहजनक सहभागिताको लागि अनुरोध गरे ।

कार्यक्रमका निर्णायक समितिमा नेपालका अग्रज चलचित्रकर्मी नीर शाहको नेतृत्वमा भारतका चलचित्रविद् प्रेमेन्द्र मजुमदार, चीनको बेजिङ फिल्म एकेडेमीका प्रोफेसर ल्याङ स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच, नेपाली जनजाति तथा भाषाभाषी चलचित्रमा ख्याति पाएका वरिष्ठ चलचित्रकर्मी नविन सुब्बा रहेका थिए ।

नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (नीफ) प्रत्येक बर्ष नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (एनआईएफएफ) ले आयोजना गर्दछ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ११:३०