१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

विद्यालयमा स्थानीय पाठ्यक्रम, अब आफ्नै परिवेशका विषय पढ्न पाइने


१३ असोज, लमजुङ । लमजुङ आठ स्थानीय तह छन् । जसमध्ये दुई स्थानीय तहले मात्र स्थानीय पाठ्यक्रम लागू गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाले १ देखि ५ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम लागू गरेका हुन् ।

मध्यनेपाल नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईले स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेश अनुकूल र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको चिनारीका विषयलाई समावेश गरिएको बताए ।

पाठ्यक्रममा पालिकाभित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडीबुटी, कृषि, अन्य विविधता समेटिएको छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ ।

स्थानीय स्रोतसाधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवर्द्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै जिल्लाको मस्र्याङ्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवराज पौडेलले स्थानीय पाठ्यक्रममा गाउँपालिकाको रहनसहन, वेशभूषा, ऐतिहासिक, पर्यटकीय स्थल, संस्कृति, विशिष्ट व्यक्तित्वको चिनारी समावेश गरिएको बताए ।

स्थानीय पाठ्यक्रमले समग्र जिल्लाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने बताइएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ११:२५